मिति-२०७५ भदौ १८ गते
जनताको स्वास्थ्य अधिकारको रक्षा गर
नेपाल चिकित्सक संघ अस्पतालमा प्रशासनिक काम रोक्ने, आकस्मिकबाहेकका अन्तरंग सेवा बन्द गर्ने, आकस्मिकबाहेक इमर्जेन्सी नै बन्द गर्ने, ल्याब तथा रेडियोलोजी बन्द गर्ने र आकस्मिकबाहेक सबै सेवा बन्द गर्नेजस्ता विरोध कार्यक्रम सार्वजनिक गरी भदौ १७ गतेदेखि आन्दोलनमा उत्रिएको छ । चिकित्सक सङ्घको आन्दोलन र स्वास्थ्य सेवा बन्द गरिएको घटनाप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । देशभरका स्वास्थ्य संस्था बन्द गरिँदा बिरामी उपचार सेवाबाट बञ्चित भएका छन् ।
गत १ भदौदेखि लागू भएको मुलुकी अपराध र देवानी संहिताका कारण आफ्नो पेसा असुरक्षित भएको डाक्टरहरुको आरोप छ । नयाँ ऐन कार्यान्वयनमा आएको १ भदौदेखि भए पनि यो कानुन पारित भएर लालमोहर लागेको एक वर्ष पहिल्यै हो । उपचारका क्रममा कोही बिरामीमाथि लापरवाहीपूर्ण रूपमा सेवा दिएकै कारण कसैको मृत्यु भएमा चिकित्सक सजायको भागी हुनुपर्ने व्यवस्था यो कानुनको एउटा बुँदामा उल्लेख छ ।
लापरवाही गरेको प्रमाणित भएपछि पनि दण्डित हुनु नपर्ने पेसा चिकित्सा क्षेत्र पक्कै होइन होला । लापरवाही गरिएको तथ्य पत्ता लगाउने निकायहरु छन् । उजुरी आउने बित्तिकै कोही चिकित्सक थुनामा परिहाल्ने पनि होइन । स्थापित मान्यताका आधारमा लापरवाही हो होइन भन्ने ठहर गरिने जान्दा जान्दै यो विषयलाई तोडमोड गरिएको छ ।
अत्यावश्यक सेवा सञ्चालन ऐनमा स्वास्थ्य सेवा बन्द गर्न नपाइने व्यवस्था छ । स्वास्थ्य संस्था बन्द गर्ने जस्तो अमानवीय कार्य नेपालको संविधान तथा कानुनको ठाडो उल्लङ्घन हो । कानुन भन्दा माथि कोही हुँदैन तर हाम्रो देशमा कानुनको उल्लङ्घन गर्ने कार्यलाई बहादुरी मानिने प्रचलन बढ्दै गएको र यस्ता कार्यले दण्डहीनतालाई प्रश्रय दिएको छ ।
आफ्ना माग पूरा गराउने नाममा अत्यावश्यक सेवा बन्द गर्दा लाखौँ मानिसको जीवन जोखिममा पर्न सक्नेतर्फ सचेत हुन, स्वास्थ्य जस्तो गम्भीर र अत्यावश्यक सेवाप्रति जिम्मेवारी बोध गरी पेशागत मर्यादा कायम राख्न चिकित्सक सङ्घसँग आग्रह गर्दछौँ । समस्याको समाधान वार्ता र संवादबाट खोज्न सकिनेतर्फ चिकित्सक सङ्घ तथा नेपाल सरकारको ध्यानाकर्षण गराउन चाहान्छौँ ।

सुबोधराज प्याकुरेल
अध्यक्ष
HUMAN RIGHTS NEWS PORTAL