मिति-२०७४ चैत ९ गते
हार्दिक स्वागत
प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्घीय सरकारका मन्त्रीसहित प्रदेश सरकारका मुख्यमन्त्रीसँग चैत ७ गते भएको बैठकमा बहालवाला तथा सेवानिवृत्त पदाधिकारीले कानुन विपरीत प्रयोग गर्दै आएको सुविधा सात दिनभित्र फिर्ता गर्न निर्देशन दिनु भएको भन्ने समाचारको हामी स्वागत गर्दछौँ ।
यो निर्देशनसँगै सुरक्षा निकायमा कार्यरत उपल्लो दर्जाका कर्मचारीले घरेलु कामदारका रुपमा प्रयोग गरेका सुरक्षाकर्मीहरु तथा बहालवाला तथा सेवानिवृत्त पदाधिकारीले दुरुपयोग गरिरहेको सवारी साधनको लगत सङ्कलन शुरु गरेको गृह मन्त्रालयले जनाएको छ ।
बहालवाला तथा सेवा निवृत्त पदाधिकारीले कानुन विपरीत सरकारी सेवा सुविधा प्रयोग गर्दा राज्यलाई बर्सेनि करोडौं रुपैयाँ आर्थिक भार पर्दै आएको समाचारहरु सार्वजनिक हुने गरेका छन् । सरकारी सुविधाको अनुचित दोहन गर्नेहरुमा उच्चपदस्थ कर्मचारीहरु, पूर्वमन्त्रीहरु, प्रशासकहरु, पूर्वप्रधानमन्त्री,उच्चपदमा रहेका सुरक्षाकर्मीहरु रहेका छन् । यो निर्देशनको परिपालना भए घरेलु कामदारका रुपमा राखिएका १५ हजार हाराहारी तल्लो दर्जाका सुरक्षाकर्मीले आफ्नो स्वतन्त्रता र स्वाभिमानको अनुभूतिसहित देश सेवा गर्न पाउने छन् ।
प्रधानमन्त्रीले दिनुभएको निर्देशनको पालना गर्दै सो को कार्यान्वयन गर्नु मातहतका निकायको दायित्व हो । आवश्यक परेमा कानुनहरुको संशोधन गरी राज्यको स्रोत साधन दुरुपयोग गर्ने परिपाटी अन्त्य गर्ने दिशातर्फ देश अगाडि बढोस् । धेरै शुभकामना ।
सुबोधराज प्याकुरेल
अध्यक्ष