इन्सेकद्वारा तीन महिलाको हत्यारा पत्ता लगाउन माग
रोदिक खबर डटकम । २०७८ पुस २७ गते
खोटाङ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले खोटाङमा वर्षौँ अघि विभत्स तरिकाले हत्या गरिएका तीन महिलाको परिवारलाई न्याय दिलाउन सरकार समक्ष माग गरेको छ । शुक्रबार जिल्ला प्रशासन कार्यालयमार्फत गृह मन्त्रालयलाई ज्ञापनपत्र पठाउँदै इन्सेकले २६ माघ २०७३ मा विभत्स अवस्थामा मृत फेला परेकी खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चेकी रिता तामाङ (१७), धारिलो हतियार प्रयोग गरेर हत्या गरिएकी हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानकी ज्ञानीमायाँ विश्वकर्मा (५७) र ४ साउन २०७४ मा हत्या गरिएकी जन्तेढुंगा गाउँपालिका–६ दिप्लुङकी देवी बिक (३७) को परिवारलाई न्याय दिलाउन माग गरेको हो ।
इन्सेक प्रतिनिधि तारानाथ फुयाँलले प्रमुख जिल्ला अधिकारी फडिन्द्र दाहालमार्फत बुझाएको ज्ञापनपत्रमा जघन्य घट्नाका दोषीलाई पहिचान गरी कानुनी कठघरामा उभ्याएर पिडित परिवारलाई न्यायको प्रत्याभूति दिलाउन माग गरिएको छ । तीन महिलाको हत्या भएको वर्षौँ बिते पनि दोषीलाई प्रहरीले अहिलेसम्म पहिचान गर्न सकेको छैन । महिलाको हत्यामा संलग्न दोषी पत्ता लगाउन नसकेको भन्दै जिल्लामा प्रहरीको चर्को आलोचना हुने गरेको छ । जघन्य घट्नामा संलग्न अपराधीको पहिचान नहुँदा पीडित परिवार त्रसित छन् भने दोषीको मनोवल बढाउन टेवा पुगिरहेको फुयाँल बताउँछन् । हत्याको विषयमा अनुसन्धान जारी रहेको भए पनि ‘रिजल्ट’ प्राप्त हुन नसकेको प्रहरीको जवाफ छ ।
प्रहरीको इन्भेस्टीगेसन टिमको अनुसन्धानबाट समेत दोषी पत्ता लाग्न नसक्दा प्रहरी अनुसन्धानमाथि नै प्रश्न उठेको अधिकारकर्मीको भनाई छ ।
HUMAN RIGHTS NEWS PORTAL






