मानव अधिकार समूह गठन र कार्ययोजना निर्माण बैठक
सप्तरी । २०८० पुस १५ गते
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेशद्वारा गठित डाक्नेश्वरी नगरपालिका मानव अधिकार समुहले वडा नम्बर–१० बनौला टोलमा ०८० पुस १४ गते वडा स्तरीय मानव अधिकार समूह गठन र कार्ययोजना निर्माण बैठक सम्पन्न गरेको छ । वडा अध्यक्ष कुन्जीलाल चौधरीको अध्यक्षतामा सम्पन्न वैठकले बौएलाल रजक अध्यक्ष रहेको १५ सदस्यीय समिति चयन गरेको हो । वडा अध्यक्ष चौधरीले बाल विवाह विरुद्ध र महिला हिंसा विरूद्ध पीडितको न्यायको लागि पहलकदमी रहने विश्वास दिलाउनु भयो । मानव अधिकार र राज्यबाट प्रदान गरिएको अधिकारबारे सधै जानकार हुनुपर्ने चौधरीले बताउनु भयो ।

नगर मानव अधिकार समूहका कोषाध्यक्ष मुसा अन्सारीले मानव अधिकारलाई सुनिश्चित गर्ने काम सम्बन्धित निकायको भएपनि आवश्यक पहलको भूमिका मानव अधिकार समूहले गर्नुपर्ने बताउनु भयो । पीडित भए पछि मात्र कानुन र न्यायबारे जानकारी लिने प्रवृति त्यागी न्यायमा सबैको पहुँचका लागि वडा वडामा समूह गठन गर्दै कानुनी सचेतना बढाउनु पर्ने उहाँले बताउनु भयो । वडा स्तरिय समूहमार्फत पीडितको पहिचान गर्न सहज हुने भएको वडा स्तरिय समूह गठन गरिएको भन्नुहुँदै इन्सेक सप्तरी सहजकर्ता अजय परियारले समूहको भूमिका, जिम्मेवारी र इन्सेको परियोजनाको उद्देश्यबारे प्रकाश पार्नु भयो । कार्यक्रममा नगर मानव अधिकार समूहकी सुनिता सरदार, हिरा फेकनी माध्यमिक विद्यालयअन्तर्गत बाल अधिकार सचेतना समूहका अध्यक्ष बरुण कुमार साह, उपाध्यक्ष मनिषा रजक लगायतले आ–आफ्नो धारणा राख्नु भयो ।
मनोहरकुमार पोखरेल
HUMAN RIGHTS NEWS PORTAL






