निर्वाचन आचार संहिता पालना गर्न गराउन नागरिक समाजको सुझाव

बाँके । २०८२ फागुन ५ गते

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई, स्वच्छ, निष्पक्ष, धाँधलिरहित, बनाउन अधिकारकर्मीहरूले सरोकारवाला निकायलाई सल्लाह–सुझावहरू दिएका छन् । डिसीए नेपाल र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को सहकार्यमा निर्वाचन आचारसंहिताः कानूनी व्यवस्था र व्यवहारिक अभ्यास विषयक अन्तरक्रिया कार्यक्रममा फागुन ५ गते नेपालगञ्जमा आयोजित कार्यक्रममा सहभागीहरुले उक्त कुरा बताएका हुन् । निर्वाचन आचारसंहिता अनुगमण अधिकृत तथा सहायक प्रमुख जिल्ला अधिकारी पूर्णबहादुर खत्रीको प्रमुख आतिथ्यता र इन्सेक लुम्बिनी प्रदेश संयोजक भोला महतको अध्यक्षतामा सो कार्यक्रम सम्पन्न भएको थियो ।

   

प्रमुख जिल्ला अधिकारी पूर्णबहादुर खत्रीले प्रत्येकले आचारसंहिता कार्यान्वयन र पालना गर्न अनुरोध गर्दै स्वच्छ र भयरहित निर्वाचन गराउनु सबै निकाय र नागरिकहरूको साझा कर्तव्य रहेको बताउनुभयो । साथै उहाँले आचारसंहिता पालना गर्दा अपनाउनुपर्ने नीति, नियम कानुनी व्यवस्था बारे नागरिकहरुलाई सचेत गराउनुपर्ने, स्वच्छ निश्पक्ष र पारदर्शी रुपमा निर्वाचन सम्पन्न गर्न राजनीतिक दल, नागरिक समाज, पत्रकार, सुरक्षा निकाय सबैको साझा दायित्व रहेकाले सबैले आ–आफ्नो ठाउँबाट निर्वाचन आचारसंहिता उल्लङ्घन गरे नगरेको अनुगमन गर्न आवश्यक रहेको खत्रीले बताउनु भयो । साथै उहाँले द्वेषपूर्ण अभिव्यक्ति प्रति पार्टी उम्मेदवारलाई प्रचार प्रसारमा संलग्नलाई अनुगमन गरी सच्याउन लगाएको बताउनु भयो । उहाँले अफवाह, गलत सूचना र सामाजिक सञ्जालमार्फत फैलिने भ्रमप्रति सचेत रहन सबैलाई आग्रह गर्नुभयो ।

   

कार्यक्रममा आसन्न निर्वाचनलाई मध्यनजर गर्दै निर्वाचनलाई स्वच्छ, भयरहित, निष्पक्ष वातावरणमा सम्पन्न गराउन निर्वाचन आयोगले तयार पारेको निर्वाचन आचारसंहिताका कार्यान्वयनका लागि मतदाता देखि लिएर पार्टी र उम्मेद्वार समेतले पालना गर्नुपर्ने आचारसंहिताको प्रभावकारी कार्यान्वयनका सन्दर्भमा सरोकारवालाहरुको भूमिकाका के के हुनसक्छ भन्दै विगतका सिकाई र गल्ती पुनः नदोहोर्‍याउने गरी कसरी प्रभावकारी काम गर्न सकिन्छ भन्ने कुरा महत्वपूर्ण हुने भएको बताउदै स्वागत तथा उद्देश्यमाथि इन्सेक लुम्बिनी प्रदेश संयोजक भोला महतले प्रकाश पार्नु भएको थियो ।

जिल्ला निर्वाचन कार्यालय बाँकेका प्रमुख टेकबहादुर शाहीले निर्वाचन आचारसंहिता र सबैले पालना गर्नुपर्ने आचारण, राजनीतिक दल, उम्मेदवार, दलको भातृसंगठन, पर्यवेक्षक, पर्यवेक्षण गर्ने संस्था, कर्मचारी, सञ्चारकर्मीले पालना गर्नुपर्ने आचरण संहिताको बारेमा प्रस्तुत गर्दै सहभागीहरुलाई जानकारी गराउनु भयो ।

राष्ट्रिय मानव अघिकार आयोग नेपालगञ्ज प्रमुख द्वारिका अधिकारीले आयोगले दिएको जिम्मेवारी अनुसार आन्तरिक रुपमा रिर्पोटिंग गरी निष्पक्ष विवाद रहित, स्वच्छ भयरहित शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न गर्न गराउन आचारसंहिताको सबैले पालना गरौं भन्दै विगतका सिकाइ र गल्ती पुनः नदोहो¥याउने गरी कसरी प्रभावकारी काम गर्न सकिन्छ भन्ने कुरामा जोड दिनु भयो ।

   

निर्वाचनका मुखमा मात्र निर्वाचन सचेतना कार्यक्रमहरु सञ्चालन गर्नुले मतदाता सचेतना नबढ्ने हुँदा समयमै निर्वाचन मतदाता सचेतना कार्यक्रमहरु सञ्चालनमा ल्याइनुपर्ने, निर्वाचनका समयमा घटनाहरु घट्नसक्ने भएकाले सम्पूर्ण निकाय उच्च सतर्कतामा बस्नुपर्ने, निर्वाचनका दौरानमा मत सर्वेक्षण र मतदाताको गोपनियताको सवाल महत्वपुर्ण हुने भएकाले सञ्चारमध्यमबाट प्रकाशित हुने गलत तथा भ्रामक समाचारलाई नियन्त्रण गर्नुपर्ने, स्थानीय निकायका कर्मचारीहरु समेत उम्मेदवारहरुको प्रचार प्रसारमा संलग्न भएको भन्ने समाचारहरु आइरहेकोले सचेत गराउनु पर्ने, मतदाता शिक्षामा खटिएका कर्मचारीहरुको निष्पक्षतामाथि प्रश्नहरु उठेकाले त्यसतर्फ ध्यान दिनुपर्ने, ज्येष्ठ नागरिकलाई मतदान स्थलमा लाइनमा नलागिकन भोट हाल्ने व्यवस्था मिलाउनु पर्ने, मतदान स्थलमा शौचालय र पिउने पानीको व्यवस्था हुनुपर्ने, आवश्यकता अनुसार मतदान स्थलमा स्वास्थ्यकर्मी र एम्बुलेन्सको व्यवस्था हुनुपर्ने, निर्वाचन प्रचार प्रसारका क्रममा बालबालिकाहरुको प्रयोग अझै देखिएको हुँदा नियन्त्रण गरिनुपर्ने, मतदाता शिक्षा प्रभावकारी बनाउनु पर्ने लगायतका सवालमा सभागीहरुले ध्यानाकर्षण गराएका छन् ।

कार्यक्रममा नागरिक समाजका कृष्ण प्रसाद श्रेष्ठ, नियोगका लुम्बिनी प्रदेश संयोजक पर्यवेक्षक अधिवक्ता बसन्त गौतम, मानव अधिकार एलाइन्सका प्रभात कुमार ठकुरी, मानवअधिकारकर्मी प्रकाश उपाध्याय, अधिवक्ता भीम बहादुर शाही, सञ्चारकर्मी विजय मल्ल, नागरिक समाजका तर्फबाट विनोद थापा, मैमुन सिद्दीकी, नागरिक समाजका अगुवा प्राध्यापक रविन्द्र कर्ण, स्याक नेपालकी अध्यक्ष बविता सिंहले आ–आफ्ना राख्नु भएको थियो ।

कार्यक्रमको सहजिकरण लक्ष्मी थारुले गर्नु भएको थियो ।

ध्रुवराज शर्मा