अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र राष्ट्रिय मानव अधिकार आयोगको आयोजनामा ०८२ फागुन २० गते ‘निर्वाचन र पर्यवेक्षकको भूमिका’ विषयमा छलफल भएको छ ।
इन्सेक कोशी प्रदेश कार्यालय विराटनगरमा भएको छलफल कार्यक्रममा पर्यवेक्षकहरूले निर्वाह गर्नुपर्ने भूमिका र पालना गर्नुपर्ने आचारसंहिता, पर्यवेक्षकहरुसँगको समन्वय र सूचना आदानप्रदान लगायतका विषयमा छलफल भयो ।

छलफल कार्यक्रममा इन्सेक कोशी प्रदेश संयोजक मनोहरकुमार पोखरेलले आगामी निर्वाचनलाई स्वच्छ, निष्पक्ष, शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न गराउन पर्यवेक्षकहरुले सक्रिय रूपमा पर्यवेक्षण गर्नुपर्ने बताउनु भयो । कार्यक्रमको उद्देश्यबारे बताउनु हुँदै उहाँले आवश्यक समन्वय, समयमै सूचना आदान–प्रदान, निर्वाचनसँग सम्बन्धित विषयहरूमा आपसी सहकार्य, निर्वाचन व्यवस्थापन सुधारका लागि सुझावहरू संकलन र पर्यवेक्षकहरुको जिम्मेवार भूमिकाको अपेक्षासहित छलफल कार्यक्रम आयोजना गरिएको बताउनु भयो ।
देशको विशिष्ठ परिस्थितिपछि हुन लागेको निर्वाचनप्रति आमनागरिकमा चासो रहेको बताउनु हुँदै राष्ट्रिय मानव अधिकार आयोगका मानव अधिकार अधिकृत दुर्गा पोखरेलले पर्यवेक्षकहरुको सुझावहरूलाई आयोगले सदैव गम्भीर रूपमा लिने गरेको बताउनु भयो ।
कार्यक्रममा इन्सेक, राष्ट्रिय मानव अधिकार आयोग, मोरङस्थित गैसस महासंघ, नियोक, जियोक, मोरङ बार एशोसिएसनका तर्फबाट निर्वाचन पर्यवेक्षकहरुको सहभागिता रहेको थियो । संघसंस्थाका अध्यक्ष तथा पर्यवेक्षकहरुले हालसम्म निर्वाचनमा अनुभव गरेका विषयहरू, आचारसंहिता उल्लंघनको अवस्था, निर्वाचन सुरक्षा व्यवस्थापन र तयारी तथा चुनौतीको विश्लेषण गर्नुभएको थियो ।
HUMAN RIGHTS NEWS PORTAL






