कर्णालीमा मानव अधिकार उल्लंघनका ६ सय ८ घटना
इकान्तिपुर अनलाइन डटकम । २०८२ चैत २२ गते
गत वर्ष राज्य पक्षबाट ६ जना महिला, ७९ पुरुषसहित ८५ जना र अन्य पक्षबाट ५ सय ३१ जना महिला र ७८ जना पुरुष पीडित भएको इन्सेक कर्णाली प्रदेश संयोजक नारायण सुवेदीले बताए
सुर्खेत — एक वर्षको अवधिमा कर्णाली प्रदेशमा ६ सय ८ वटा मानवअधिकार उल्लंघनका घटना भएका छन् । ती घटनामा ५ सय ९४ जना पीडित भएका हुन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का अनुसार सन् २०२५ मा मानवअधिकार उल्लंघनका घटनामा ५ सय १५ महिला र ८१ पुरुष पीडित भएका छन् ।
गत वर्ष राज्य पक्षबाट ६ जना महिला, ७९ पुरुषसहित ८५ जना र अन्य पक्षबाट ५ सय ३१ जना महिला र ७८ जना पुरुष पीडित भएको इन्सेक कर्णाली प्रदेश संयोजक नारायण सुवेदीले बताए । उनका अनुसार गत वर्ष भएका विभिन्न घटनामा ८२ जना घाइते भएका छन् । संस्थाले २०२५ मा कर्णालीमा बलात्कारका घटनाहरू पनि बढेको देखाएको छ ।
५ वर्षको अवधिमा ६४ वटा बलात्कारका घटना भएका हुन् । ‘कानुनको कमजोर कार्यान्वयन, राज्यको जवाफदेहिताको अभाव र सामाजिक कुसंस्कारका कारण मानवअधिकार उल्लंघनका घटना बढिरहेका छन्,’ संयोजक सुवेदीले भने, ‘दण्डहीनताको अन्त्य, विधिको शासन, संस्थागत सुधार र मानव अधिकारको सम्मानका विधि अवलम्बन गर्नसके यस्ता घटनामा कमी आउने देखिन्छ ।’
तथ्यांक सार्वजनिकीकरण कार्यक्रममा कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले मानव अधिकारको अवस्था सुधार नगरी समृद्धिको यात्रा असम्भव भएको बताए । उनले राज्यका निकायहरूबीच समन्वय अभाव, न्यायमा ढिलाइ र कमजोर कार्यान्वयनका कारण मानव अधिकार उलंघनका घटना दोहरिने गरेको बताउँदै यस्ता समस्याको समाधानका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको जानकारी दिए ।
Source: https://himalpress.com/2026/04/human-rights-violations-increase-in-karnali-694-victims/
Source: https://www.ratopati.com/story/554698/human-rights-violations-and-atrocities-on-the-rise-in-karnali
Source: https://khulanajar.com/2026/04/5072/
Source: https://www.risingkarnali.com/2026/04/blog-post_3.html
Source: https://kankrebihar.com/?p=62705
HUMAN RIGHTS NEWS PORTAL






