मानव अधिकार रक्षक सञ्जाल कोशी प्रदेशको दोस्रो बैठक सम्पन्न

कोशी  प्रदेश । २०८२ चैत २२ गते

कोशी प्रदेशस्तरीय मानव अधिकार रक्षक सञ्जालको दोस्रो बैठक ०८२ चैत २२ गते विराटनगरमा सम्पन्न भएको छ ।

बैठकमा शिक्षा, स्वास्थ्यलगायतका अधिकारसम्बन्धी सेवाहरू र ती सेवा प्राप्तिमा जनताको पहुँचको अवस्था, स्थानीय तहको निर्णायक प्रक्रियामा पछाडि पारिएका स्थानीयवासीको सहभागिता र आवश्यक्ताको बारेमा छलफल भएको छ ।

मानवअधिकारको प्रवर्धन, संरक्षण, परिपूर्तिका लागि जिम्मेवार निकायको जवाफदेहीतालाई प्रवर्धन गर्न शिक्षाको अधिकारसम्बन्धी विषयमा स्थानीय र प्रदेश तहमा ध्यानाकर्षण गराउने निर्णय गरिएको छ । नागरिकको आधारभूत अधिकारसँग जोडिएका र आवश्यक देखिएका शिक्षा, स्वास्थ्य र वातावरण सम्बन्धी मागहरु सञ्जालका सदस्यहरुले सरकारी तथा गैरसरकारी संस्था र स्थानीयसँग छलफल गरेर संकलन गर्ने जिम्मेवारी तोकिएको छ ।

औधोगिक क्षेत्र रहेको सुनसरीको दुहबी नगरपालिकासँग समन्वय गरी उद्योगीहरु र पीडित समेतको सहभागितामा वातावरण र मानव अधिकार विषयक अन्तरक्रिया तथा सिडिओ र सरोकारवालाहरुको सहभागितामा विराटनगरमा व्यवसाय र मानव अधिकार विषयक अन्तरक्रिया कार्यक्रम गर्ने निर्णय भएको छ ।

      

 

स्थानीय तहका समस्यामा सञ्जालले अवलम्बन गर्नुपर्ने रणनीति, प्राथमिकता र लक्ष्य हासिल गर्न आयोजना गर्नुपर्ने कार्यक्रमहरुबारे बैठकमा छलफल भएको छ । बैठकमा फागुन २१ गते सम्पन्न निर्वाचन, बढदो डिजीटल हिंसा, दुहबीको एशियन छाला उद्योगविरुद्ध इन्सेकले दायर गरेको मुद्दामा चैत १६ गते भएको परमादेश जारी, अधिकार र जनचेतना अभिवृद्धिमा गर्न सकिने कार्यहरु जस्ता विषयमा छलफल भएको छ ।

कोशी प्रदेशस्तरीय मानव अधिकार रक्षक सञ्जालका संयोजक देबी बास्कोटाले महिला, बालिका, दलित समुदायका मानिसहरू भेदभाव र हिंसा विरुद्धको अधिकारको उपभोग गर्न सक्षम भइ नसकेको अवस्थामा शिक्षा, स्वास्थ्य र वातावरण संरक्षणका लागि स्थानीय सरकार, नेपाल प्रहरी र लक्षित समुदायसँग सहकार्य गरेर अघि बढनु पर्ने बताउनु भयो ।

इन्सेक कोशी प्रदेश संयोजक मनोहर कुमार पोखरेलले आवश्यक कानुन निर्माण र कार्यान्वयनका लागि बहस पैरवी तथा दवाव सिर्जना गर्ने महत्वपूर्ण जिम्मेवारी निर्वाहका लागि सशक्त बन्दै सञ्जालले प्रभावकारी काम गर्नुपर्ने बताउनु भयो । प्रदेश संयोजक पोखरेलले दलित, महिला, बालबालिका र अपाङ्गता भएका व्यक्तिहरूलाई उच्च प्राथमिकतामा राखेर समस्या पहिचान तथा कार्ययोजना निर्माण गरेर परिचालन हुनुपर्ने आवश्यक्ता औल्याउनु भयो ।

बैठकमा सञ्जालका सदस्यहरु, लैङ्गिक अल्पसंख्यक, दलित, अपाङ्गता, बाल क्लब संस्थाहरूका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

सञ्जालका संयोजक देबी बास्कोटोका अध्यक्षता र सदस्य लिलाप्रसाद निरौलाको सञ्चालनमा भएको बैठकमा सहभागीहरूले शिक्षा, स्वास्थ तथा वातावरणीय अधिकारबारे स्थानीय स्तरमा समस्या पहिचान गरी भूमिका निर्वाह गर्ने प्रतिबद्धता गर्नुभयो ।  

कोशी प्रदेश कार्यालय