कानुनी प्रक्रियामा जानका लागि इन्सेकको सहयोग

कैलाली । २०८३ बैशाख १४ गते

अन्तरजातीय विवाह घटनाका पीडित महिलालाई कानुनी प्रक्रियामा जानका लागि इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीले ०८३ वैशाख १४ गते आर्थिक सहयोग प्रदान गरेको छ ।

चुरे गाउँपालिका–६ की २६ वर्षीया सीमा चुनारालाई कानुनी प्रक्रियामा जान सहज होस भन्ने उद्धेश्यले इन्सेकले आर्थिक सहयोग स्वरुप १० हजार रुपियाँ प्रदान गरेकोे हो ।

गोदावरी नगरपालिका–२ अत्तरियाका २२ वर्षीय पति एकेन्द्र बोहराले भारतको बेङ्लोरमा लगेर विवहा गरी दुई वर्ष पतिपत्नीसँगै बस्दै आइरहेको भए पनि घर परिवारको दबाबमा आएर दलित महिला भन्दै ०८२ माघ १५ गते मरनासन्न हुने गरी कुटपिट गरी भारतमै कोठामा बन्धक बनाएर फरार भएकोले पतिविरुद्ध जिल्ला अदालत, कैलालीमा नाता कायमको मुद्दा दर्ता गरेको पीडितले बताइन् ।

पतिले भारतमा अलपत्र छोडेर फरार भएपछि माइती पक्षले उद्धार गरी नेपाल ल्याएको भए पनि माइती पक्षको आर्थिक अवस्था कमजोर भएका कारण कानुनी प्रक्रियामा जान समस्या भएको भन्दै पीडित महिलालले कानुनी प्रक्रियालाई सहज बनाउन आर्थिक सहयोगका लागि ०८३ वैशाख ७ गते इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीमा निवेदन दिनुभएको थियो । सोही निवेदनका आधारमा पीडितको घटना अध्ययन गरी न्यायका लागि इन्सेकले आर्थिक सहयोग प्रदान गरेको छ ।

आर्थिक अभावका कारण पीडितहरुले न्याय पाउनबाट वञ्चित हुन नपरोस् र पीडितको न्यायमा सहज पहुँच पुगोस् भन्नका लागि इन्सेकले मानव अधिकार सहायता कक्ष मार्फत आर्थिक सहयोग प्रदान गर्दै आएको इन्सेक सुदूरपश्चिम प्रदेश संयोजक खडकराज जोशीले बताउनु भयो ।

मैनामोती चौधरी