चाडपर्व लक्षित उपभोक्ता अधिकार र शान्तिसुरक्षाका सवालमा चासो

नेपाखबर डटकम । २०८३ असोज २४ गते

नेपालगन्ज २४ असोज : बाँकेका अधिकारकर्मीहरुले चाडपर्व लक्षित उपभोक्ता अधिकार र शान्तिसुरक्षाका सवालमा चिन्ता र चासो प्रकट गरेकाछन् । 

नेपालीहरुको महान चाडपर्व दशैंतिहारको पूर्वसन्ध्यामा राज्यका जिम्मेवार निकायले आफ्नो दायित्व प्रभवकारी ढंगले निर्वाह नगरेको भन्दै बाँकेका अधिकारकर्मीहरुले यस्तो चिन्ता र चासो दिएका हुन् । 

पछिल्लादिन नेपालगन्जमा ट्राफिक व्यवस्थापन भद्रगोल भएको, अटो आतंक उल्लेख्य बढेको, सडकमा पशुचौपाया र सामाग्री राख्ने, अखाद्य पदार्थको बजारमा बिगविगी, अचाक्ली मूल्यबृद्धि तथा अपराधका गतिविधि उल्लेख्य बढेको भन्दै उनीहरुले सरोकारवाला निकायलाई गम्भीर बन्न आग्रह गरेकाछन् । 

अनौपचारिक क्षेत्र सेवा केन्द्र, इन्सेकले आयोजना गरेको मानवअधिकार रक्षक संजाल बाँकेको बैठकमा उपस्थित जिल्लाका अधिकारकर्मी, कानून व्यवसायी, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा पत्रकारले जिल्लाको शान्तिसुरक्षा, उपभोक्ता अधिकारका विषयमा गम्भीरताकासाथ प्रभावकारी कार्य नभएको निष्कर्श निकालेका थिए ।

कानून बमोजि राज्य नचलेको भन्दै बजारमा अखाद्य पदार्थको विगविगी रहेको, बजार अनुगमन प्रभावकारीरुपमा नभएको, अचाक्ली मूल्यबृद्धि, लागुपदार्थको सेवन, विक्रिी र ओसारपसार बढेको, अदालत र अस्पताल क्षेत्रमा ध्वनी प्रदूषणले सेवाग्राही प्रभावित बनेको, सीमा तथा सार्वजनिक यातायातमा सर्वसाधरण ठगिने, लुटिनेक्रम बढेको, उद्योगबाट निस्किने प्रदुषण व्यवस्थापन र नियन्त्रणमा चासो नदिएको, श्रमिक ठगिएको, उपभोक्ता संरक्षण ऐन प्रभावकारी कार्यान्वयन नभएको र प्रहरीले कानूनी प्रक्रियाको उल्लङ्घन गरेको उक्त बैठकमा छलफल गरिएको थियो । 

इन्सेकका सदस्य अधिवक्ता विकास आचार्यको अध्यक्षतमा भएको बैठकमा इन्सेक संयोजक भोला महत, वरीष्ठ अधिवक्ता सुनिल कुमार श्रेष्ठ, उच्च अदालत बार एशोसियशन बाँकेका अध्यक्ष पवन गुप्ता, जिल्ला बार एशोसियशन बाँकेकी अध्यक्ष पुनम श्रेष्ठ, पूर्व अध्यक्ष केवल सिंह थारु, अधिकारकर्मी सुरेश गौतम, प्रभात सिंह ठकुरी, मोहम्मद जहिर शेष, मोहम्मदी सिद्धिकी, नारायण पाल र विनोद थापा अधिवक्ताहरु बलबहादुर चन्द, वसन्त गौतम, विश्वजीत तिवारी, मन बहादुर बुढा लगायतले आफ्नो धारणा राखेका थिए ।

Source: https://shorturl.at/Eh7CT