मानव अधिकार रक्षक सञ्जालको बैठक सम्पन्न

बाँके । २०८३ असोज २४ गते

इन्सेक लुम्बिनी प्रदेश कार्यालय, नेपालगञ्जको आयोजनामा २०८३ असोज २३ गते नेपालगञ्जमा प्रदेशस्तरीय मानव अधिकार रक्षक सञ्जालको बैठक सम्पन्न भएको छ। इन्सेक कार्यसमिति सदस्य तथा अधिवक्ता विकास आचार्यको अध्यक्षतामा सम्पन्न बैठकमा समसामयिक मानव अधिकारका सवाल, चाडपर्वका समयमा नागरिक तथा उपभोक्ताका अधिकारको संरक्षण र सरोकारवाला निकायको भूमिकाबारे छलफल गरिएको थियो।

बैठकमा चाडपर्वको पूर्वसन्ध्यामा बजार अनुगमनलाई प्रभावकारी बनाउन, उपभोक्ताको अधिकार संरक्षण गर्न तथा नागरिकलाई सुरक्षित र सहज रूपमा चाडपर्व मनाउने वातावरण सुनिश्चित गर्न सम्बन्धित निकायहरू जिम्मेवार हुनुपर्नेमा सहभागीहरूले जोड दिएका थिए।

 

त्यसैगरी, सडक दुर्घटना न्यूनीकरण, मानव अधिकार उल्लङ्घनका पीडितले न्यायमा पहुँच प्राप्त गर्ने अवस्था सुनिश्चित गर्ने तथा सम्बन्धित सरोकारवाला निकायलाई थप जिम्मेवार बनाउने विषयमा छलफल भएको थियो।

बैठकमा बाँकेको भेरी अस्पतालको आकस्मिक सेवालाई दक्ष जनशक्तिसहित २४ सै घण्टा प्रभावकारी रूपमा सञ्चालन गर्नुपर्ने विषयसमेत उठाइएको थियो। आकस्मिकजस्तो संवेदनशील सेवा सिकारु जनशक्तिको भरमा सञ्चालन गर्न नहुने भन्दै सहभागीहरूले दक्ष स्वास्थ्यकर्मीको व्यवस्था गरी गुणस्तरीय र प्रभावकारी सेवा प्रवाह सुनिश्चित गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएका थिए।

बैठकमा वरिष्ठ अधिवक्ता सुनिलकुमार श्रेष्ठ, उच्च अदालत बार एसोसिएसन नेपालगञ्जका अध्यक्ष पवन गुप्ता, बाँके जिल्ला बारका अध्यक्ष पुनम श्रेष्ठ, गैरसरकारी संस्था महासङ्घ बाँकेका अध्यक्ष मन भण्डारी, इन्सेकका साधारण सदस्यहरू गोपालनाथ योगी र कृष्णमुरारी प्रसाद भट्टलगायत मानव अधिकारकर्मी तथा पत्रकारहरूको सक्रिय सहभागिता रहेको थियो। 

ध्रुबराज शर्मा