मानव अधिकारका विषयलाई प्राथमिकतामा राख्ने मुख्यमन्त्री थापाको प्रतिबद्धता
समाचार विचार ठटकम । २०८३ कात्तिक ९ गते
हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले मानव अधिकार संरक्षण र प्रवर्द्धनका विषयलाई प्रदेश सरकारको नीति, कार्यक्रम तथा बजेटमा प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का अध्यक्ष विजय राज गौतम र बागमती प्रदेश संयोजक शिव प्रसाद खकुरेलसँग आइतबार भएको भेटघाटका क्रममा मुख्यमन्त्री थापाले यस्तो प्रतिबद्धता व्यक्त गर्नुभएको हो।
भेटमा मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजनाको प्रदेश तथा स्थानीय तहमा प्रभावकारी कार्यान्वयन र मानव अधिकार रक्षकहरूको सुरक्षा तथा अधिकार सुनिश्चित गर्न आवश्यक कानुनी व्यवस्था निर्माणका विषयमा छलफल भएको थियो।
इन्सेकका अध्यक्ष गौतमले मानव अधिकारका विषयलाई प्रदेश सरकारको नीति, कार्यक्रम र बजेटमा समेट्नुपर्ने बताउँदै राष्ट्रिय कार्ययोजना कार्यान्वयनमा प्रदेश सरकारको नेतृत्वदायी भूमिका आवश्यक रहेको उल्लेख गर्नुभयो। उहाँले यसका लागि इन्सेक प्रदेश सरकारसँग सहकार्य गर्न तयार रहेको बताउनुभयो।
त्यसैगरी, इन्सेक बागमती प्रदेश संयोजक खकुरेलले मानव अधिकारका सवाललाई स्थानीय तहसम्म पुर्याउन प्रदेश सरकार, स्थानीय तह र नागरिक समाजबीच समन्वय तथा सहकार्य आवश्यक रहेको बताउनुभयो। उहाँले मानव अधिकार रक्षकहरूको सुरक्षा र अधिकार सुनिश्चित गर्न कानुनी व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो।
मुख्यमन्त्री थापाले राष्ट्रिय कार्ययोजनाको स्थानीयकरण तथा कार्यान्वयनका लागि आवश्यक समन्वय र सहकार्य गर्ने तथा मानव अधिकार रक्षकहरूको अधिकार सुनिश्चित गर्न कानुनी व्यवस्थाका विषयमा पहल गर्ने प्रतिबद्धता जनाउनुभएको इन्सेकले जनाएको छ।
HUMAN RIGHTS NEWS PORTAL







