अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का अध्यक्ष विजयराज गौतम र बागमती प्रदेश संयोजक शिवप्रसाद खकुरेलले मानव अधिकारका विषयलाई प्रदेश सरकारको नीति, कार्यक्रम तथा बजेटमा प्राथमिकता दिन आग्रह गर्नुभएको छ।
इन्सेकका अध्यक्ष लगायतको टोलिले ०८३ कात्तिक ८ गते बागमती प्रदेशका मुख्यमन्त्री किरण थापासँग भेटघाट गरी मानव अधिकारको संरक्षण तथा प्रवर्द्धन, मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजनाको स्थानीयकरण र मानव अधिकार रक्षकहरूको अधिकार सुनिश्चित गर्न आवश्यक कानुनी व्यवस्था निर्माणका विषयमा छलफल गर्नुभएको थियो ।

भेटका क्रममा इन्सेकका अध्यक्ष गौतमले राष्ट्रिय कार्ययोजनाको प्रभावकारी कार्यान्वयनका लागि प्रदेश सरकारको नेतृत्वदायी भूमिका आवश्यक रहेको बताउँदै सहकार्य गर्न इन्सेक तयार रहेको बताउनु भयो । प्रदेश संयोजक खकुरेलले मानव अधिकारका सवाललाई स्थानीय तहसम्म पुर्याउन प्रदेश सरकार, स्थानीय तह र नागरिक समाजबीच समन्वय आवश्यक रहेको बताउनुभयो।
मुख्यमन्त्री थापाले मानव अधिकारका विषयलाई प्रदेश सरकारको नीति, कार्यक्रम तथा बजेटमा प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले छैटौँ राष्ट्रिय कार्ययोजनाको स्थानीयकरण तथा कार्यान्वयनका लागि समन्वय र सहकार्य गर्ने तथा मानव अधिकार रक्षकहरूको अधिकार र सुरक्षा सुनिश्चित गर्न आवश्यक कानुनी व्यवस्थाका लागि पहल गर्ने प्रतिबद्धतासमेत जनाउनुभयो।
HUMAN RIGHTS NEWS PORTAL







