सामूहिक बलात्कार घटनाकी पीडित २५ वर्षीया दलित महिलालाई उपचार तथा कानुनी प्रक्रियामा सहयोग पुग्ने उद्देश्यले अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालयको मानव अधिकार सहायता कक्षमार्फत २०८३ कात्तिक १० गते आर्थिक सहयोग प्रदान गरेकाे छ । आर्थिक अवस्था कमजोर भएका कारण उपचार तथा कानुनी प्रक्रियामा कठिनाइ भइरहेको अवस्थामा इन्सेक सप्तरी जिल्ला प्रतिनिधि नवीन कुमार यादवसमक्ष पीडितले सोही दिन निवेदन दिएको आधारमा पीडितलाई १० हजार रुपियाँ आर्थिक सहयोग उपलब्ध गराइएको हो।
सामाजिक अभियन्ता सलिता कुमारी सदा ,जनचेतना दलित संगम सप्तरीका कार्यकारी निर्देशक इन्द्रप्रसाद राम, दलित जनकल्याण युवा क्लवका कार्यक्रम प्रबन्धक बहादुर सदा, इन्सेक सप्तरी प्रतिनिधि नवीन यादव, अनलाइनखबरका सप्तरी प्रतिनिधि लोकेन्द्र यादव तथा पत्रकार दीपेन्द्र पासवानले संयुक्त रुपमा पीडितलाई सहायता रकम हस्तान्तरण गर्नुभएकाे थियो ।
महिलामाथि सामूहिक बलात्कार गरेको आरोपमा तीन जना युवकविरुद्ध कात्तिक ५ गते इलाका प्रहरी कार्यालय कडरबोनामा पीडित पक्षले उजुरी दिएको थियो । कात्तिक ४ गते दुर्गापूजाको मूर्ति विसर्जन गरेर घर फर्किने क्रममा आरोपितहरुले मुख थुनेर आँपको बगैँचामा लगेर सामुहिक बलात्कार गरेको पीडितले बताएकी छन् । पीडितको स्वास्थ्य परीक्षण कात्तिक ५ गते राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भयो । जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख एसपी रूपक खड्काले आरोपितहरूको पहिचान भइसकेको र खोजतलास भइरहेको जनाउँदै घटनाबारे थप अनुसन्धान भइरहेको बताउनुभयो ।
HUMAN RIGHTS NEWS PORTAL







