मानव अधिकार रक्षक सञ्जाल कर्णाली प्रदेशको त्रैमासिक बैठक ०८३ कार्तिक १२ गते वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । सञ्जालका संयोजक पीताम्बर ढकालको अध्यक्षतामा बसेको बैठकले सञ्जालको सहसंयोजक, विषयगत उपसमितिका संयोजक, जिल्ला संयोजक, छनोट, लैंङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत सुर्खेतका नौ ओटै पालिकामा कानुनी सचेतना र नजिकै आइरहेको शुभ दिपावली, छठपर्वको शुभकामना आदानप्रदान गर्ने निर्णय गरिएको छ । सञ्जालको सहसंयोजकमा अधिवक्ता गिता कोइराला, सञ्जालको महिला बालबालिका तथा सिमान्तकृत उपसमितिको संयोजकमा सिसिआर कर्णाली प्रदेशका अध्यक्ष टिकाराम आचार्य, शिक्षा, स्वास्थ्य, वातावरण तथा विभेद विरुद्धको उपसमितिमा नवज्योति केन्द्रकी जरमाया बाठा चयन हुनुभएको छ ।
कर्णाली प्रदेशका विभिन्न जिल्लामा हुने मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटना, मानव अधिकार रक्षकका सवाल र समग्र मानव अधिकारको अवस्थाबारे नियमित सूचना संकलन तथा रिपोर्टिङ गर्ने उद्देश्यले बैठकले १० ओटै जिल्लाका लागि संयोजकसमेत चयन गरेको छ।
जसअनुसार सुर्खेतमा मानव अधिकार रक्षक सञ्जाल कर्णाली प्रदेशकी सदस्य शर्मिला बिसी, दैलेखमा केडका अनुप नेपाली, जाजरकोटमा फियान नेपालकी कविता रेग्मी, हुम्लामा किर्डाक नेपालका बिन्दुलाल रेग्मी र सल्यानमा सुन्दर नेपालका भुपेन्द्र कँडेललाई जिल्ला संयोजकको जिम्मेवारी दिइएको छ।
त्यस्तै, डोल्पामा दलित महिला संघ (फेडो) की खगिसरा वली, जुम्लामा सिसिआरका टेकराज आचार्य, कालिकोटमा सोसेक नेपालकी शुसीला गिरी, मुगुमा राष्ट्रिय अपाङ्ग महासंघकी रत्ना राना र रुकुम पश्चिममा डब्लुएचआरकी सितल सिंह राठौर जिल्ला संयोजकमा चयन हुनुभएको छ।

जिल्ला संयोजकहरूले सम्बन्धित जिल्लामा मानव अधिकारको अवस्था, मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटना र मानव अधिकार रक्षकहरूले सामना गर्नुपरेका समस्या तथा चुनौतीबारे सूचना संकलन र समन्वय गर्नेछन्। प्रदेशस्तरमा मानव अधिकारको अवस्थाबारे नियमित जानकारी प्राप्त गर्ने र आवश्यक पहल तथा समन्वयलाई प्रभावकारी बनाउने उद्देश्यले जिल्ला संयोजकको अवधारणा अघि सारिएको सञ्जालले जनाएको छ।
बैठकले लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानका क्रममा सञ्जालमा आवद्ध सबै संस्थाहरुको सहकार्यमा सुर्खेतका नौ ओटै पालिकामा कानुनी सचेतना गर्ने प्रतिवद्धतासहितको निर्णय गरेको छ ।
मानव अधिकार रक्षक सञ्जाल कर्णाली प्रदेशका संयोजक पीताम्बर ढकालले प्रदेशभरीको मानव अधिकार उल्लङ्घन र ज्यादतीको अवस्थालाई मध्यनजर गर्दै जिल्ला संयोजकहरुको अवधारणा ल्याइएको बताउनुभयो। उहाँले जिल्ला स्थित मानव अधिकार रक्षक सञ्जालका संयोजकहरुको विषयमा कार्यविधि बनाएर अगाडी बढ्ने बताउनुभयो ।
इन्सेक कर्णाली प्रदेश कार्यालयका संयोजक नारायण सुवेदीले मानव अधिकारको संरक्षण र सम्वद्र्धनमा सञ्जाल कोसेढुंगा भएको भन्दै सबैको सामुहिक प्रयासले योजना अनुरुप काम गर्न सकिने बताउनुभयो । उहाँले जिल्लामा रहेका मानव अधिकार रक्षक तथा सञ्जालबीचको समन्वयलाई प्रभावकारी बनाउँदै मानव अधिकारका सवालमा तत्काल सूचना आदानप्रदान र आवश्यक पहल गर्न यसले सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो।
उहाँले मानव अधिकारका सवाल कुनै एक संस्था वा व्यक्तिको प्रयासबाट मात्रै सम्बोधन हुन नसक्ने भएकाले सरकारी तथा गैरसरकारी निकाय, नागरिक समाज, मानव अधिकार रक्षक र सरोकारवालाबीच निरन्तर समन्वय आवश्यक रहेको बताउनुभयो।
बैठकले लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानलाई प्रभावकारी बनाउन सञ्जालमा आबद्ध संस्थाहरूबीच सहकार्य गर्ने निर्णय गरेको छ। अभियानका क्रममा सुर्खेतका नौ ओटै स्थानीय तहमा कानुनी सचेतनामूलक कार्यक्रम सञ्चालन गरी लैङ्गिक हिंसा, त्यसविरुद्ध उपलब्ध कानुनी उपचार तथा पीडितको न्यायमा पहुँचका विषयमा समुदायस्तरमा सचेतना अभिवृद्धि गर्ने योजना बनाइएको छ।
बैठकमा सहभागी मानव अधिकार रक्षकहरूले सञ्जालका आगामी गतिविधि, जिल्लास्तरमा मानव अधिकारको अवस्थाको अभिलेखीकरण तथा रिपोर्टिङ, मानव अधिकार रक्षकबीचको समन्वय र आगामी कार्ययोजनाका विषयमा छलफल गरेका थिए। बैठकको अन्त्यमा सहभागीहरूले नजिकिँदै गरेको शुभ दीपावली तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदानसमेत गरेका थिए।
HUMAN RIGHTS NEWS PORTAL







