पत्रकार तथा सञ्चारकर्मीमाथि भइरहेको धरपकड, धम्की, दबाब र दुर्व्यवहार तत्काल रोक्न मानव अधिकार रक्षक सञ्जाल गण्डकी प्रदेश, अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश तथा नागरिक समाजले माग गरेका छन् ।
सञ्जाल तथा नागरिक समाजका तर्फबाट २०८३ कात्तिक १७ गते जारी प्रेस विज्ञप्तिमा पछिल्लो समय सञ्चारमाध्यम, पत्रकार तथा सञ्चारकर्मीमाथि भइरहेको धरपकड, नियन्त्रण, धम्की र दबाबका घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ ।
विज्ञप्तिमा स्वतन्त्र प्रेस लोकतन्त्रको मेरुदण्ड भएको उल्लेख गर्दै नागरिकको सुसूचित हुने अधिकार, विचार तथा अभिव्यक्ति स्वतन्त्रता र राज्यका गतिविधिमाथि निगरानी गर्ने पत्रकारिताको संवैधानिक भूमिकालाई कुनै पनि बहानामा कुण्ठित गर्न नहुने जनाइएको छ । नेपालको संविधानले प्रत्याभूत गरेको सञ्चारको हक तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्नु राज्यको संवैधानिक दायित्व भएको विज्ञप्तिमा उल्लेख छ ।
सत्यतथ्यमा आधारित समाचार सम्प्रेषण गर्दा तथा सार्वजनिक सरोकारका विषय उठाउँदा पत्रकारमाथि धरपकड, धम्की र प्रतिशोधपूर्ण व्यवहार गरिनु प्रेस स्वतन्त्रता र लोकतान्त्रिक अभ्यासमाथिको गम्भीर चुनौती भएको विज्ञप्तिमा जनाइएको छ । कानुनी शासनका नाममा स्वतन्त्र पत्रकारितालाई नियन्त्रण गर्ने र आलोचनात्मक आवाज दबाउने कार्य स्वीकार्य हुन नसक्ने उल्लेख गरिएको छ ।
विज्ञप्तिमार्फत पत्रकार तथा सञ्चारकर्मीमाथि भइरहेको धरपकड, धम्की, दबाब र दुर्व्यवहार तत्काल बन्द गर्न, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र नागरिकको सूचनाको हक सुनिश्चित गर्न माग गरिएको छ । साथै पत्रकारमाथि भएका दुर्व्यवहार तथा मानव अधिकार उल्लङ्घनका घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउन र सञ्चारमाध्यमलाई निर्भीक, निष्पक्ष तथा स्वतन्त्र रूपमा काम गर्ने वातावरण बनाउन आग्रह गरिएको छ ।
प्रेस स्वतन्त्रता कुनै व्यक्ति वा संस्थाको विशेषाधिकार नभई सम्पूर्ण नागरिकको लोकतान्त्रिक अधिकार भएको उल्लेख गर्दै मानव अधिकार, विधिको शासन र लोकतान्त्रिक मूल्य–मान्यताको रक्षाका लागि नागरिक समाज, मानव अधिकारकर्मी तथा सञ्चारकर्मीलाई एकजुट हुनसमेत अपिल गरिएको छ ।
प्रेस विज्ञप्तिमा मानव अधिकार रक्षक सञ्जालका संयोजक रामहरि दुंगाना, सहसंयोजक जुना केसी, सचिव सावित्री घिमिरे, सदस्य जगन्नाथ तिमिल्सिना, दुदराज अधिकारी, पत्रकार श्याम कुँवर, दुर्गादेवी अधिकारी, रुद्र अधिकारी, प्रेमकुमारी अधिकारी, सामाजिक अगुवा इश्वरी विक, फेडोकी सुमित्रा गायक, इन्सेक गण्डकी प्रदेश संयोजक शिवप्रसाद खकुरेल र नेपाल पत्रकार महासंघका अध्यक्ष रमेश पौडेललगायतले हस्ताक्षर गर्नुभएको छ ।
HUMAN RIGHTS NEWS PORTAL







