सामाजिक सञ्जालको दुरुपयोगबाट मानव बेचबिखन तथा साइबर अपराधको जोखिम बढ्न सक्ने भन्दै बालबालिका तथा किशोरकिशोरीलाई सचेत गराउने उदेश्यले धनुषामा २०८३ कात्तिक १८ गते सचेतना कार्यक्रममा सम्पन्न भएको छ ।
आफन्त नेपाल, अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), एम्नेस्टी इन्टरनेसनल नेपाल, महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र धनुषाको आयोजना तथा जनकपुरधाम उपमहानगरपालिका–२४ वडा कार्यालयको समन्वयमा जनकपुरधाममा आयोजित सामाजिक सञ्जालका कारण हुने मानव बेचबिखन तथा साइबर अपराधसम्बन्धी सचेतना कार्यक्रममा सहभागी वक्ताहरूले यस्तो आग्रह गरेका हुन्।
जनकपुरधाम उपमहानगरपालिका–२४ स्थित श्री गोगलप्रसाद नमुना माध्यमिक विद्यालयको सभाहलमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शत्रुधनप्रसादको अध्यक्षता तथा शेषनाथ मण्डलको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय धनुषाअन्तर्गत महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र धनुषाकी प्रमुख प्रहरी निरीक्षक सुषमा श्रेष्ठले नेटवर्किङ, साइबर अपराध, सामाजिक सञ्जालको सुरक्षित प्रयोग र साइबर सुरक्षासम्बन्धी विषयमा सहजीकरण गर्नुभयो। उहाँले व्यक्तिगत विवरणको सुरक्षा, अपरिचित व्यक्तिसँग अनलाइन सम्पर्क गर्दा अपनाउनुपर्ने सावधानी तथा साइबर अपराधबाट बच्ने उपायबारे जानकारी गराउनुभयो।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालयका संयोजक राजु पासवानले संस्थाको परिचय, उद्देश्य तथा मानव अधिकार संरक्षण र प्रवर्धनका क्षेत्रमा गर्दै आएका गतिविधिबारे प्रस्तुतिकरणमार्फत सहभागीहरूलाई जानकारी गराउनुभयो। उहाँले नेपालको संविधानले बालबालिकालाई प्रदान गरेका मौलिक हक तथा अधिकार, बाल अधिकारसम्बन्धी कानुनी व्यवस्था र बालबालिकाको संरक्षणका लागि राज्य, परिवार तथा समुदायको जिम्मेवारीबारे स्पष्ट पार्नुभयो। उहाँले बालबालिकालाई शिक्षा, स्वास्थ्य, संरक्षण, सहभागिता र विकासको अधिकार सुनिश्चित गर्नु राज्यको दायित्व भएको उल्लेख गर्दै कुनै पनि बहानामा बालबालिकामाथि हुने हिंसा, शोषण, दुर्व्यवहार, विभेद तथा बेचबिखन मानव अधिकारको गम्भीर उल्लङ्घन भएको बताउनुभयो। उहाँले पछिल्लो समय सामाजिक सञ्जालको बढ्दो प्रयोगसँगै बालबालिका तथा किशोरकिशोरी विभिन्न किसिमका जोखिममा पर्दै गएको उल्लेख गर्नुभयो। सामाजिक सञ्जालमार्फत अपरिचित व्यक्तिले मित्रता गाँस्ने, झुटा परिचय दिने, आकर्षक अवसर तथा प्रलोभन देखाउने र विश्वासमा पारेर व्यक्तिगत विवरण, तस्बिर तथा अन्य संवेदनशील सूचना सङ्कलन गर्ने प्रवृत्तिले मानव बेचबिखन, अनलाइन दुव्र्यवहार, धम्की तथा साइबर अपराधको जोखिम बढाउन सक्ने उहाँको भनाइ थियो। उहाँले यस्ता गतिविधिबाट बच्न अपरिचित व्यक्तिको अनुरोध स्वीकार नगर्ने, व्यक्तिगत विवरण र पासवर्ड गोप्य राख्ने तथा शङ्कास्पद गतिविधि देखिएमा अभिभावक वा सम्बन्धित निकायलाई जानकारी गराउनुपर्नेमा जोड दिनुभयो। साथै, बालबालिकालाई आफ्ना अधिकार र सम्भावित जोखिमबारे जानकारी गराउनुका साथै सामाजिक सञ्जालको सुरक्षित तथा जिम्मेवार प्रयोगसम्बन्धी व्यवहारिक ज्ञान दिन आवश्यक रहेको उहाँले बताउनुभयो। मानव बेचबिखन तथा साइबर अपराधको रोकथामका लागि विद्यार्थी, अभिभावक, शिक्षक, विद्यालय प्रशासन र समुदायबीच समन्वय तथा सहकार्य हुनुपर्ने उल्लेख गर्दै कुनै घटना वा जोखिम देखिएमा पीडितलाई दोषारोपण नगरी समयमै सहयोग र संरक्षण प्रदान गर्नुपर्ने उहाँले बताउनुभयो। उहाँले यस्ता सचेतनामूलक कार्यक्रमले बालबालिकालाई आफ्नो अधिकारप्रति सचेत बनाउनुका साथै जोखिम पहिचान र त्यसबाट सुरक्षित रहने क्षमता विकास गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो।

त्यसैगरी, आफन्त नेपाल धनुषाकी संयोजक अमृता घिमिरेले सामाजिक सञ्जालको बढ्दो प्रयोगसँगै बालबालिका तथा किशोरकिशोरी मानव बेचबिखन र विभिन्न प्रकारका शोषणको जोखिममा पर्न सक्ने बताउनुभयो। उहाँले सामाजिक सञ्जालमार्फत अपरिचित व्यक्तिले साथी बन्ने, प्रलोभन देखाउने, रोजगारी तथा आकर्षक अवसरको प्रस्ताव गर्ने र व्यक्तिगत विवरण तथा तस्बिर प्राप्त गरी दुरुपयोग गर्न सक्ने भएकाले अनलाइन सम्पर्कमा विशेष सावधानी अपनाउनुपर्नेमा जोड दिनुभयो। उहाँले मानव बेचबिखन रोकथामका लागि विद्यार्थी स्वयं सचेत र सजग हुनुका साथै अभिभावकले बालबालिकाको अनलाइन गतिविधिप्रति चासो राख्नुपर्ने तथा समुदायले जोखिमपूर्ण गतिविधिको पहिचान गरी समयमै सम्बन्धित निकायलाई जानकारी गराउनुपर्ने बताउनुभयो। साथै, सामाजिक सञ्जालको सुरक्षित प्रयोग, जोखिमको पहिचान र शङ्कास्पद गतिविधिबारे खुलेर जानकारी आदानप्रदान गर्ने वातावरण निर्माण गर्न सके मानव बेचबिखन तथा साइबर अपराध न्यूनीकरणमा सहयोग पुग्ने उहाँको भनाइ थियो।
एम्नेस्टी इन्टरनेसनल नेपालकी जमुना भुजेलले मानव अधिकार, बाल अधिकार तथा बालबालिकाको सुरक्षासम्बन्धी विषयमा प्रकाश पार्नुभयो। उहाँले बालबालिकामाथि हुने हिंसा, दुव्र्यवहार, शोषण र विभेद मानव अधिकारको उल्लङ्घन भएको उल्लेख गर्दै उनीहरूको अधिकार संरक्षणमा परिवार, विद्यालय, समुदाय र राज्यको साझा जिम्मेवारी रहेको बताउनुभयो। उहाँले सामाजिक सञ्जालको असुरक्षित प्रयोगबाट व्यक्तिगत गोपनीयता भङ्ग हुनुका साथै बालबालिका साइबर दुव्र्यवहार, धम्की तथा मानव बेचबिखनको जोखिममा पर्न सक्ने भएकाले व्यक्तिगत विवरण सार्वजनिक नगर्न र अपरिचित व्यक्तिसँग अनलाइन सम्पर्क गर्दा सावधानी अपनाउन आग्रह गर्नुभयो। साथै, यस्ता सचेतनामूलक कार्यक्रमले विद्यार्थीमा मानव अधिकार, बाल सुरक्षा र सामाजिक सञ्जालको जिम्मेवार प्रयोगसम्बन्धी ज्ञान अभिवृद्धि गर्न सहयोग पुग्ने बताउनुभयो।
कार्यक्रममा विद्यालयका विद्यार्थी, मानवअधिकारकर्मी । सञ्चारकर्मी, प्रहरी तथा विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
HUMAN RIGHTS NEWS PORTAL







