डिसिएको सहकार्यमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले मंसिर ८ गते उत्तरगया गाउँपालिका–५ मा आयोजना गरेको ‘भोटेकोशी बाढी प्रभावित नागरिकको मानव अधिकार अवस्था, पूर्वप्रतिबद्धता कार्यान्वयन समीक्षा तथा पुनःस्थापना र पुनर्निर्माणका लागि सरोकारवालाको जवाफदेहितासम्बन्धी अन्तरक्रिया’ कार्यक्रममा सहभागीहरूले यस्तो धारणा राखेका हुन् ।

कार्यक्रमका प्रमुख अतिथि उत्तरगया गाउँपालिकाका अध्यक्ष माधवप्रसाद अर्यालले विपद् प्रभावित नागरिकको स्थायी पुनःस्थापनाका लागि सात क्षेत्रलाई प्राथमिकतामा राखेर योजना तयार पारिएको बताउनुभयो । उहाँका अनुसार शिक्षा तथा स्वास्थ्य, वन तथा वातावरण, आवास, जीविकोपार्जन, खानेपानी, पूर्वाधार तथा संरक्षण, आर्थिक तथा सामाजिक अधिकार र सम्पत्ति, धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक सम्पदाको संरक्षणलाई समेटेर पुनर्निर्माणका योजना बनाइएको छ । विपद्को जटिल अवस्थामा सामाजिक सङ्घसंस्थाले जीवन रक्षाका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गर्दै अध्यक्ष अर्यालले अब स्थानीय सरकारले प्रदेश तथा सङ्घीय सरकारसँग समन्वय गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको सहयोगमा विपद्पछिका काम अघि बढाउने बताउनुभयो ।

उहाँले विपद्का समयमा कसैले कानुनले निषेध गरेका कार्य गरेमा दण्डनीय हुने स्पष्ट पार्नुभयो । अध्यक्ष अर्यालले विद्यालय तहमा अध्ययनरत बालबालिकाको शिक्षालाई निरन्तरता दिन आवश्यक व्यवस्था गरिने बताउनुभयो । कक्षा ११ र १२ तथा सोभन्दा माथिल्लो तहमा अध्ययनरत विद्यार्थीका लागि सङ्घीय सरकारसँग समन्वय गरी सम्बन्धित शैक्षिक संस्थामार्फत निःशुल्क शिक्षाको व्यवस्था गर्न पहल गरिने उहाँको भनाइ थियो । बाढीबाट क्षतिग्रस्त भवनका भग्नावशेष तत्काल नहटाइने जानकारी दिँदै उहाँले हतारमा संरचना भत्काउँदा भविष्यमा विकास निर्माणका काममा अवरोध हुन सक्ने भएकाले यस विषयलाई गम्भीरतापूर्वक बुझ्न आग्रह गर्नुभयो ।
उत्तरगया गाउँपालिका–५ का वडाध्यक्ष यमनाथ आचार्यले अन्तरक्रियामा प्रभावित नागरिकका सवालमा महत्त्वपूर्ण छलफल भएको बताउनुभयो । उहाँका अनुसार वडाभित्रका दुई ओटा होल्डिङ सेन्टरमा प्रभावित नागरिक बस्दै आएका छन् । उनीहरूको समस्या र आवश्यकतालाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने उहाँले बताउनुभयो ।

होल्डिङ सेन्टरमा बस्ने र घरभाडामा बस्ने दुवै सुविधा दोहोरो रूपमा प्राप्त गर्न नसकिने व्यवस्था रहेको उल्लेख गर्दै वडाध्यक्ष आचार्यले घरभाडामा बस्दै आएका प्रभावित नागरिकलाई उपलब्ध गराउनुपर्ने रकम यथाशीघ्र वितरण गर्नुपर्ने बताउनुभयो । बाढी प्रभावित नागरिकले भोग्नुपरेको जलवायु न्यायको सवाललाई अन्तर्राष्ट्रिय स्तरमा समेत उठाउन आवश्यक रहेको उहाँको भनाइ थियो ।
उत्तरगया गाउँपालिका–५ का पूर्ववडाध्यक्ष ईश्वर थापाले प्रभावित नागरिकको माटोसँगको सम्बन्ध गहिरो भएकाले आफ्नो थातथलो छाड्न नसक्ने अवस्था रहेको बताउनुभयो । केही संस्थाले राहत वितरणका क्रममा विभेद गरेको र धर्मको विषयसमेत जोडिएको उहाँको आरोप थियो ।
बाढीबाट क्षति भएका घरको तथ्याङ्कमा समेत एकरूपता नरहेको उल्लेख गर्दै थापाले १४७ घर क्षति भएकोमा १९८ घर क्षति भएको तथ्याङ्क सार्वजनिक भएको बताउनुभयो । अब राहत वितरणमा मात्र अल्झिनुभन्दा पुनर्निर्माणमा केन्द्रित हुनुपर्ने उहाँको भनाइ थियो । प्रभावित नागरिकले घरभाडाबापतको रकम कहिले पाउने भन्ने अन्योल रहेको बताउँदै उहाँले मागको समयमै सुनुवाइ नभए प्रभावित नागरिक सडकमा छाप्रा हालेर बस्न बाध्य हुने अवस्था आउन सक्ने चेतावनी दिनुभयो ।
कार्यक्रममा इन्सेक केन्द्रीय कार्यालयका सूचना अधिकारी कृष्ण गौतमले लेन्देखोलाहुँदै भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित नागरिकको मानव अधिकार संरक्षणका लागि इन्सेकले सरोकारवालासँग निरन्तर छलफल गर्दै आएको बताउनुभयो । प्रभावित परिवारको तथ्याङ्क सङ्कलनसँगै आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारको संरक्षणका लागि इन्सेकले बाढी प्रभावित सबै जिल्लामा अन्तरक्रिया कार्यक्रम सञ्चालन गरिरहेको उहाँले जानकारी गराउनु भयो।

प्रभावित नागरिकका लागि सरकारले तत्काल स्थायी आवासको व्यवस्था गर्नुपर्नेमा जोड दिँदै गौतमले महिला तथा बालबालिकाका सवाल अझ संवेदनशील भएकाले तिनको संरक्षण र पुनःस्थापनामा सरकारले एक क्षण पनि ढिलाइ गर्न नहुने बताउनुभयो ।
सामुदायिक आत्मनिर्भर केन्द्रका विश्वास नेपालीले बाढी गएको तीन महिना बित्न लाग्दासमेत प्रभावित नागरिकको पुनःस्थापनाका लागि ठोस काम हुन नसकेको बताउनुभयो । बाढीका कारण नागरिकले भौतिक सम्पत्तिसँगै सामाजिक सम्बन्धसमेत गुमाएको विषयमा सरकार गम्भीर हुनुपर्ने उहाँको भनाइ थियो । बाढीले क्षति पुर्याएका धार्मिक तथा सांस्कृतिक सम्पदाको पुनःस्थापनालाई पनि प्राथमिकता दिनुपर्ने उहाँले बताउनुभयो ।
प्रभावित नागरिक लामो समयदेखि पुनःस्थापनाको प्रतीक्षामा रहेकाले अब सरकारले ढिलाइ गर्न नहुने उल्लेख गर्दै नेपालीले सरकारलाई दबाब दिन प्रभावित नागरिकका दबाब समूहहरू गठन हुन थालेको बताउनुभयो । आवास पुनर्निर्माणको काम अन्योलमा रहँदा प्रभावित नागरिक थप समस्यामा पर्न सक्ने र होल्डिङ सेन्टरमा बस्दै आएकाहरूको आधारभूत मानव अधिकार संरक्षणमा समेत चुनौती देखिएको उहाँले बताउनुभयो ।
उत्तरगया गाउँपालिका–५ का बाढी प्रभावित दिलकृष्ण श्रेष्ठले प्रभावित नागरिकका सवालमा सरोकारवालासँग छलफल आयोजना गरेकोमा इन्सेकलाई धन्यवाद दिनुभयो । बाढीपछि बाँचेका नागरिकबीचको सम्बन्धसमेत टुटेकाले सामाजिक सम्बन्ध पुनःस्थापना आवश्यक रहेको उहाँले बताउनुभयो । सरकारले हालसम्म के काम गरेको छ र आगामी योजना के छन् भन्ने विषयमा प्रभावित नागरिकलाई स्पष्ट जानकारी नभएको उहाँको भनाइ थियो ।

जन्मथलोप्रतिको भावनात्मक सम्बन्धका कारण आफूहरू आफ्नो ठाउँ छाड्न नचाहेको बताउँदै श्रेष्ठले नजिकै सुरक्षित स्थान उपलब्ध गराई निजी आवास निर्माण गरेर बस्ने वातावरण बनाउनुपर्ने माग गर्नुभयो ।
स्थानीय प्रभावित व्यवसायी गोकर्ण भट्टराईले बाढीका कारण ठूला व्यवसाय सञ्चालन गर्दै आएका व्यवसायीसमेत विस्थापित भएको र गुमेको व्यवसाय पुनः सञ्चालन गर्न कठिनाइ भएको बताउनुभयो । बाढीमा गुमेको व्यवसाय कहाँ र कसरी पुनः सुरु गर्ने भन्ने अन्योल रहेको उल्लेख गर्दै उहाँले नदीले क्षति पुर्याएका जग्गालाई तटबन्ध निर्माण गरी सुरक्षित बनाउने तथा व्यवसाय पुनः सञ्चालनको वातावरण तयार पार्ने जिम्मेवारी राज्यले लिनुपर्ने बताउनुभयो ।
बाढी प्रभावित लेखनाथ अधिकारीले स्थानीय सहकारी तथा वित्तीय संस्थाका संरचना बाढीले बगाएपछि बचतकर्ताहरू समस्यामा परेको बताउनुभयो । व्यवसाय तथा रोजगारी गुमाएका नागरिकको जीविकोपार्जनसमेत सङ्कटमा परेको उहाँको भनाइ थियो । उहाँले बालबालिकाका आवाज सरकारले सुन्नुपर्नेमा जोड दिँदै राहत वितरणका क्रममा केही व्यक्तिले धर्मप्रचार गर्ने गरेको विषयमा समेत सचेत हुनुपर्ने बताउनुभयो । पुनःस्थापना तथा आवास निर्माणका काममा सरकार र सामाजिक सङ्घसंस्थाबीच समन्वय हुनुपर्ने उहाँले बताउनुभयो ।
नेपाल रेडक्रस सोसाइटी रसुवा शाखाका उपसभापति नीलनाथ आचार्यले प्रभावित नागरिकको तथ्याङ्कमा समस्या भए पुनः तथ्याङ्क सङ्कलन गर्न रेडक्रस तयार रहेको बताउनुभयो । प्रत्यक्ष प्रभावित नागरिकले उठाएका सवाल जायज रहेकाले तिनको सुनुवाइ हुनुपर्ने उहाँले बताउनुभयो । आगामी पुनर्निर्माणका काममा भूकम्पपछिको पुनर्निर्माणबाट प्राप्त सिकाइलाई समेत उपयोग गर्नुपर्ने उहाँको सुझाव थियो ।

बाढी प्रभावित सङ्घर्ष समितिका संयोजक विप्लव खड्काले स्थानीय, प्रदेश तथा सङ्घीय सरकारले समन्वयात्मक रूपमा काम गर्नुपर्ने बताउनुभयो । अब राहत वितरणभन्दा पुनःस्थापनालाई प्राथमिकता दिनुपर्ने समय आएको उहाँको भनाइ थियो । ऐतिहासिक तथा धार्मिक स्थल उत्तरगयाधामको सांस्कृतिक सम्बन्ध र पहिचानको समेत पुनःस्थापना हुनुपर्ने उहाँले बताउनुभयो ।
जलवायु परिवर्तनका कारण यस्ता विपद् निम्तिएको विज्ञहरूले प्रमाणित गरेको उल्लेख गर्दै खड्काले प्रभावित नागरिकले जलवायु न्यायको अधिकार प्राप्त गर्नुपर्ने बताउनुभयो । प्रभावित नागरिकमा मनोसामाजिक समस्या देखिन थालेको र यसले भविष्यमा थप सामाजिक तथा आपराधिक समस्या निम्त्याउन सक्ने जोखिम रहेको उहाँले औँल्याउनुभयो ।
भीमसेन आधारभूत विद्यालयस्थित होल्डिङ सेन्टरमा बस्दै आउनुभएका रामचन्द्र थापामगरले पैरेबेसीका ४७ घरपरिवारको पुनर्वासका लागि तत्काल पहल गर्न आग्रह गर्नुभयो । उहाँले प्रभावित परिवारका बालबालिका कोही काठमाडौं र कोही नुवाकोटको विदुरमा बस्न बाध्य भएको उल्लेख गर्दै घरभाडामा बस्ने स्थान र व्यवस्थापनबारे अन्योल रहेको बताउनुभयो ।
अन्तरक्रियामा सहभागीहरूले नेपाल–चीन सीमाबाट लेन्देखोलाहुँदै भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित नागरिकका समस्या समाधान गर्न सरकार तथा सबै सरोकारवालाको संयुक्त प्रयास आवश्यक रहेको औँल्याएका थिए ।
इन्सेकले बाढी प्रभावित नागरिकको मानव अधिकार अवस्था, यसअघि गरिएका प्रतिबद्धताको कार्यान्वयनको समीक्षा तथा पुनःस्थापना र पुनर्निर्माणका लागि सरोकारवालाको जवाफदेहिता सुनिश्चित गर्ने उद्देश्यले उक्त अन्तरक्रिया कार्यक्रम आयोजना गरेको हो ।
HUMAN RIGHTS NEWS PORTAL







