अग्रपङ्त्तिका मानव अधिकार रक्षक जोखिममा रहेको निष्कर्ष
मानव अधिकारको संरक्षण र सम्बद्र्धनका लागि अग्रपङ्त्तिमा रहेर काम गरिरहेका मानव अधिकार रक्षकहरु जोखिममा रहेको एक कार्यक्रमका सहभागिहरुले निष्कर्ष निकालेका छन् ।
डिसिएको सहयोगमा इन्सेक, दार्चुलाले भदौ १७ गते खलंगामा आयोजना गरेको मानव अधिकार रक्षकहरुका चुनौती र अवस्था विषयक अन्तरक्रिया कार्याक्रमका सहभागिहरुले उक्त निष्कर्ष निकालेका हुन् ।
कार्यक्रममा पत्रकार महासंघ,दार्चुलाका अध्यक्ष ंशंकरसिह धामीले जिल्लामा मानव अधिकारको क्षेत्रमा पैरवी र वकालत गर्ने संघसस्था र व्यक्तिहरु न्युन रहेकोले अहिलेको अवस्थामा मानव अधिकार रक्षकहरु तुलनात्मक रुपमा जोखिममा रहेको बताउनु भयो ।
उहाँले भन्नु भयो–‘अहिलेको अवस्थामा सबै व्यक्तिले अधिकारको बारेमा बोल्न सक्ने अवस्था छैन् । विभिन्न समूह सङ्गठन र व्यक्तिहरुबाट मानव अधिकारको वकालतमा लाग्नेहरु असुरक्षित छन् । अधिकार र न्यायको बारेमा वकालत गर्दा चुनौती र खतरा बढेको छ ।’
गैरसरकारी संस्था महासंघका प्रतिनिधि अशोकराज ओझाले मानव अधिकार रक्षकहरु छरिएर रहेका कारण चुनौतीहरु बढेको बताउँदै मानव अधिकार रक्षकहरु संगठित भएर सयुक्त रुपमा मानव अधिकारको सरक्षण र सम्बद्र्धनमा लाग्नु पर्ने बताउनु भयो ।
अधिवक्ता हरीशचन्द्र जोशीले समाजको चेतनास्तर कमजोर रहेकोले नागरिकलाई अधिकार र कर्तव्यको बारेमा चेतना फैलाउन आवश्यक रहेको औल्याउनु भयो ।
अधिकारकर्मी हिरा अवस्थीले विगतमा थोरै मात्र महिलाहरु महिला सञ्जालमा आवद्ध हुँदा काम गर्न निकै चुनौती रहेको उल्लेख गर्दै आगामी दिनका मानव अधिकारका सवालहरुलाई सयुक्त अभियानका रुपमा अगाडी बढाउन सकियो भने चुनौतीहरु कम भएर जाने बताउनु भयो ।
अन्तरपार्टी महिला सञ्जालका प्रतिनिधि गौरी बडालले अझै पनि महिलाहरु विभिन्न क्षेत्रमा पछि परेकोले महिला सशक्तिकरण आवश्यक रहेको बताउनु भयो ।
स्वास्थ्यकर्मी दिपक विष्टले कोभिडको यस महामारीमा स्वास्थ्यकर्मीहरु अग्रपङ्त्तिमा रहेर काम गर्दै आइकाले सबैभन्दा बढि मारमा परेको बताउनु भयो ।
उहाँले भन्नु भयो– ‘अहिले पनि स्वास्थ्यकर्मीले जोखिम भत्ता पाएका छैनन् । स्वास्थ्य चेकजाँच गर्दा चाहिने पीपीइ सेट र राम्रो मास्क पाउन सकेका छैनन् ।’
महिला मानव अधिकार रक्षक,दार्चुलाका अध्यक्ष हिरा अवस्थीको अध्यक्षतामा सम्पन्न अन्तरक्रिया कार्यक्रममा इन्सेक दार्चुला प्रतिनिधि नरेन्द्रसिह कार्कीले जिल्लाको मानव अधिकारको अवस्था, चुनौती र समाधानका उपायसम्बन्धमा सहजीकरण गर्नु भएको थियो ।
नेपाल पत्रकार महासंघ, दार्चुला शाखा अध्यक्ष शंकरसिह धामीको संयोजकत्वमा नौ सदस्यीय मानव अधिकार सञ्जाल समितिसमेत गठन गरिएको छ ।
समितिका सदस्यहरुमा नेपाल वार एसोसियसन सदस्य हरीशचन्द्र जोशी, गैरसरकारी संस्था महासंघका अशोकराज ओझा, पत्रकार प्रेम चुनारा, अनिता जोशी, मानव अधिकारकर्मी गौरी बडाल, भगवती बडाल, हिरा अवस्थी, र सदस्य सचिवमा इन्सेक जिल्ला प्रतिनिधी नरेन्द्रसिह कार्की रहनु भएको छ ।
नदेन्द्रसिह कार्की