अर्ध वार्षिक पूर्व समीक्षा कार्यक्रम सम्पन्न

रामेछाप । २०८० असार १ गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र मानव अधिकार संरक्षण सञ्जाल रामेछापले ०८० असार १ गते मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाको अर्ध वार्षिक पूर्व समीक्षा कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रम रामेछाप बारको अध्यक्ष एवम् सञ्जालका संयोजक पाण्डव प्रसाईँको अध्यक्षतामा भएको हो । कार्यक्रममा इन्सेकका जिल्ला प्रतिनिधि नवराज पथिकले ६ महिनामा इन्सेकले सङ्कलन गरेको घटनाबारे जानकारी गराउनु भएको थियो । हालसम्म इन्सेकले १० ओटा घटना अभिलेखीकरण गरेको र त्यसमा हत्या, बलात्कार लगायतका घटना संलग्न भएको उहाँले जानकारी दिनुभयो । जिल्ला न्यायाधिवक्ता योगेन्द्रप्रसाद ढुङ्गेलले मानव अधिकारको विषय न्यायाधीवक्ताको कार्यालयसँग सोझै जोडिने विषय भएको बताउनु भयो । पीडितको अधिकारको पक्षमा लड्नुको साथै पीडकको मानव अधिकार संरक्षण गराउने विषय पनि न्यायाधीवक्ताको कार्यालयकै भएको उहाँले प्रष्ट पार्नुभयो । रामेछाप जिल्लाको समग्र मानव अधिकारको अवस्था धेरै चिन्ताजनक नभए पनि घटनाहरू भने बारम्बार भइरहेको उहाँले बताउनु भयो । कार्यालयले यस वर्षको ६ महिनामा ३० ओटा विभिन्न मुद्दा अदालतमा चलाएको उहाँले जानकारी दिनुभयो । जसमा हत्याका चार ओटा, बलात्कारका सात ओटा, बलात्कार प्रयासको एक ओटा, बोक्सी आरोप दुई ओटा, बालबालिकालाई यातनाका एक ओटा मुद्दा भएको उहाँले बताउनु भयो ।

  

यसै गरी बहुविवाह र कुटपिटको मुद्दा पनि चलिरहेको उहाँले जानकारी दिनुभयो । अभद्र व्यवहारका २१ ओटा मुद्दा जिल्ला प्रशासन कार्यालयमा चलाएको उहाँले बताउनु भयो । जिल्ला प्रहरी कार्यालय रामेछापका इन्स्पेक्टर दिलीपकुमार थापाले रामेछाप जिल्लामा आत्महत्याका घटना बढ्दै गएको भन्दै चिन्ता व्यक्त गर्नुभयो । यसलाई नियन्त्रण गर्न नागरिक समाजले पनि सचेतनाका कार्यक्रम चलाउन जरुरी रहेको उहाँले बताउनु भयो । अहिले प्रहरीलाई नियमित रूपमा मानव अधिकारको विषयमा प्रशिक्षित गरिने भएकोले प्रहरीबाट मानव अधिकारविरूद्धका घटना नहुने उहाँले बताउनु भयो । कुनै प्रहरीले त्यस्तो गरे वा अन्य कुनै कानुन विपरीतको काम गरे तत्काल कारबाहीको प्रक्रिया अघि बढ्ने उहाँले बताउनु भयो । रामेछाप प्रहरीमा समेत त्यस्तो काम गर्ने व्यक्ति कारबाहीमा परेका उहाँले जानकारी दिनुभयो  गैरसरकारी संस्था महासङ्घ रामेछापका अध्यक्ष रत्नप्रसाद कँडेलले समाजमा अराजकता र राजनीतिमा अपराधीकरण बढ्दै जाँदा मानव अधिकार सङ्कटमा परेको बताउनु भयो । सभ्य समाज निर्माणको विषयमा सबैले नसोच्ने हो भने मानव अधिकारविरूद्धका अपराधका घटना बढ्ने उहाँले बताउनु भयो । कार्यक्रमका अध्यक्ष एवम् रामेछाप बारका अध्यक्ष पाण्डव प्रसाईँले नागरिक तथा राजनीतिक अधिकार उल्लङ्घनका घटना केही कम भए पनि आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार उल्लङ्घनका घटना बढ्दै गएकाले अबको ध्यान त्यता जानु पर्नेमा जोड दिनुभयो ।

नवराज पथिक