आवासको अधिकारसम्बन्धी अन्तरक्रिया सम्पन्न

कैलाली । २०७८ असोज ६ गते

अनौपचारिक क्षेत्र सेवा केन्द (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजना र गोदावरी नगरपालिका स्तरीय मानव अधिकार समुहको सहकार्यमा आवासको अधिकारसम्बन्धी अन्तरक्रिया कार्यक्रम असोज ६ गते गोदावरीमा सम्पन्न भएको छ । गोदावरी नगरपालिका–८ का वडाध्यक्ष नरेसबहादुर अधिकारीले गोदावरी नगरपालिका–७ र ८ नम्बर वडा सबैभन्दा विकट भएकाले यहाँका भूमिहिन सुकुम्बासीहरुको पहुँच आवासको अधिकारसम्म पुग्न नसकेको स्विकार गर्दै राज्यद्वारा सञ्चालित जनता आवास कार्यक्रम प्रभावकारी नभएकाले आफूले कार्यपालिकाको बैठकमा पटकपटक कुरा उठाउँदै आइरहेको भएपनि सुनुवाई नभएको बताउनु भयो ।

गोदावरी नगरपालिका–७ का वडासदस्य ठक्कर मगरले आफ्नो वडामा रहेका भूमिहिन सुकुम्बासीहरुको समस्या समाधानका लागि नगरपालिकासँग समन्वय गर्दै आइरहेको बताउनु भयो । मानव अधिकार समुहका सदस्य टेक देउवाले वडा नम्बर ८ स्थित खुटिया खोलाको किनारमा विगत वर्षदेखी बस्दै आइरहेका भूमिहिन सुकुम्बासीहरुको आर्थिक अवस्था कमजोर भएका कारण खुटिया खोलामा गिट्टी कुटेर दैनिकी चलाउन बाध्य भएका परिवारका लागि नगरपालिकाले कुनै पहल गर्न नसकेको बताउनु भयो ।

 

कार्यक्रमका सहभागि धौलीदेवी दमाईले गोदावरी नगरपालिका– ७ को टेकुला टोलको मन्दिर परिसरमा विगत १२ वर्षदेखि बस्दै आइरहेका भूमिहिन सुकुम्बासीहरुले व्यवस्थापनका लागि फारम भरिसकेको भएपनि नगरपालिकाले व्यवस्थापन गर्न नसकेको गुनासो गर्नु भयो । गोदावरी नगरपालिका—७ की टिका कोलीले आर्थिक अभावका कारण मजदुरी गरेर दैनिकी चलाउनु पर्ने भएकाले नगरपालिकाबाट सुरक्षित आवासका लागि पहल गरिदिन आग्रह गर्नु भयो । गोदावरी नगरपालिका—८ का कृष्ण नेपालीले फुसको छानो हटाउने नगपालिकाको अभियानले भौगालिक रुपमा विपन्न, गरिब र सिमान्तकृत समुदायलाई समेट्न नसकेको गुनासो गर्नु भयो ।

मैनामोती चौधरी