आवासको अधिकार विषयक अन्तरक्रिया सम्पन्न
रामेछाप । २०७८ फागुन २० गते
अनौपचारिक क्षेत्र सेवा इन्सेक र मानव अधिकार संरक्षण सञ्जाल रामेछापको आयोजनामा ०७८ फागुन १९ गते मन्थलीमा आवासको अधिकार विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । बार एसोसिएसन रामेछापका अध्यक्ष विचारसिंह तामाङको अध्यक्षतामा भएको कार्यक्रममा सहभागीहरूले आवासको अधिकारलाई स्थानीय सरकारले नीतिगत रूपमा नै व्यवस्था गर्नुपर्ने सुझाव दिएका थिएका छन् । कार्यक्रममा मन्थली नगरपालिका प्रशासन शाखाका अधिकृत गोविन्द कट्टेलले नगरपालिकाले आवासको अधिकारको विषयमा नीति नबनाएको भए पनि आवास अधिकारको क्षेत्रमा भने काम गरिरहेको बताउनुभयो ।
भूकम्पपछिको पुनर्निर्माण काममा भने मन्थली नगरपालिकाले उल्लेख्य प्रगति गरेको उहाँले बताउनुभयो । कट्टेललले भूकम्प पछिको पुनर्निर्माण क्रममा अधिकांश निजी आवास निर्माणको काम सम्पन्न भएको पनि जानकारी दिनुभयो । पत्रकार महासङ्घ रामेछापका सदस्य मिलन घिमिरेले नगरपालिकाले गरेका काम जनप्रतिनिधिलाई समेत जानकारी नहुनु दुर्भाग्यपूर्ण रहेको बताउनुभयो । पत्रकार नवराज श्रेष्ठले नीतिगत व्यवस्था नहुँदा नागरिकको अपेक्षा अनुसार काम हुन नसकेको बताउनुभयो । उहाँले स्थानीय सरकारका सूचनामा नागरिकको मात्र होइन पत्रकारको समेत पहुँच हुन नसकेको गुनासो गर्नुभयो । स्वास्थ्यकर्मी लक्ष्मी थापाले योजना निर्माण प्रक्रियामा नागरिक सहभागिता वृद्धि गर्नुपर्ने बताउनुभयो । उहाँले नगरपालिकाले विपतको कारण आवास गुमाएका नागरिकलाई आवश्यकता र मागको आधारमा राहत सहयोग गर्दै आएको बताउनुभयो ।
नबराज पथिक