इन्सेकको टोलीद्वारा मानव अधिकारसम्बन्धी पाचौँ राष्ट्रिय कार्ययोजना र कार्यान्वयन विषयमा छलफल
मकवानपुर । २०८० जेठ २७ गते
हेटौँडा उपमहानगरपालिका प्रमुख मिना कुमारी लामासँग इन्सेकको अध्यक्ष डा. कुन्दन अर्याल नेतृत्वको टोलीले ०८० जेठ २६ गते मानव अधिकारसम्बन्धी पाचौँ राष्ट्रिय कार्ययोजना र कार्यान्वयन विषयमा छलफल गरेको छ । इन्सेक बागमती प्रदेश कार्यालयद्वारा मानव अधिकारसम्बन्धी पाचौँ राष्ट्रिय कार्ययोजना र कार्यान्वयनको अवस्था विषयक छलफलमा हेटौँडा उपमहानगरपालिका प्रमुख मिना कुमारी लामाले स्थानीय स्तर समिति गठन गर्ने बताउनु भएको हो । समिति बनाउनु पर्नेमा आफूलाई यस अघि जानकारी नभएको बताउँदै नगर प्रमुख लामाले पाँचौ मानव अधिकार राष्ट्रिय कार्ययोजना कार्यान्वयन संयन्त्र गठनमा आफू तयार रहेको जानकारी दिनुभएको हो । मानव अधिकार हनन् हुनेमा महिला त्यसमा पनि दलित महिला, बालबालिका तथा अपाङ्गता भएका व्यक्ति बढी पीडित हुने गरेको नगर प्रमुखले बताउनु भयो । इन्सेकका अध्यक्ष डा. कुन्दन अर्यालले मानव अधिकार संस्कृतिको विकास गर्ने उदेश्यका साथ मानव अधिकार राष्ट्रिय कार्यायोजना आएको बताउनु भयो । मानव अधिकारको सम्मान, संरक्षण र सम्वर्धनको माध्यमबाट समावेशी, मर्यादित र समतामुलक समाजको विकास गरी मानव अधिकार पाँचौ राष्ट्रिय कार्यायोजनाको सोच भएकाले प्रदेश, जिल्ला तथा स्थानीय तहका संयन्त्र तत्काल बनाउन सुझाव दिनुभयो ।
मानव अधिकारसम्बन्धी पाचौँ राष्ट्रिय कार्ययोजनाको कार्यन्वयनका लागि केन्द्र देखि स्थानीय तहसम्म अनुगमन संयन्त्र रहेको र त्यसमा महिला सहित तीन जना अधिकारका क्षेत्रका कार्यरत व्यक्तित्वलाई समावेश गर्ने व्यवस्था भएको इन्सेक बागमती प्रदेश संयोजक भण्डारीले बताउनु भयो । कानुन कार्यान्वयनमा केही समस्या रहेता पनि बालविवाह, बहुविवाह, अपाङ्ग, एकल महिलाका क्षेत्रमा स्थानीय तहका सरकारले कार्ययोजना बनाई काम गरिनुपर्ने र कार्ययोजना बनाएपछि कार्यान्वयन गर्नुपर्ने नगरे त्यसको औचित्य नरहने समेत जानकारी दिनुभयो । उक्त भेटघाटमा मानव अधिकारसम्बन्धी पाँचौ राष्ट्रिय कार्ययोजनाले शिक्षाको अधिकार, स्वास्थ्यको अधिकार, खाद्य अधिकार, आवासको अधिकार, श्रम, रोजगार र सामाजिक सुरक्षा, बाल अधिकार, सामाजिक न्याय, खानेपानी र सरसफाई, लक्षित वर्गको संरक्षण, सशक्तिकरण र विकास, वातावरण र दीगो विकास, सांस्कृतिक अधिकार, कानुनी सुधार र न्याय प्रशासन, हिरासत तथा कारागार सुधार, सङ्क्रमणकालीन न्याय, राष्ट्रिय तथा संयुक्त राष्ट्रसङ्घीय निकायका सिफारिस, मानव अधिकार शिक्षा र संस्थागत सुदृढीकरण लगायतका विषयमा छलफल भएको थियो ।
इन्सेक बागमती प्रदेश कार्यालय, हेटौँडा