इन्सेकद्वारा वार्षिक कार्यक्रम समीक्षा गर्दै आगामी वर्षको कार्ययोजना तयार
काठमाडौँ । २०८० साउन १२ गते
इन्सेक केन्द्रीय कार्यालयले धुलिखेलमा केन्द्रीय वार्षिक समीक्षा तथा कार्ययोजना तयार गर्न आयोजना गरेको दुई दिने कार्यक्रम साउन १२ गते समापन भएको छ । कार्यक्रममा सातै प्रदेशमा गरिएका गत वर्ष सम्पन्न गरिएका कार्यक्रमका उपलब्धिको समीक्षा सहितको प्रस्तुति प्रदेश कार्यालयका प्रतिनिधिले गरेका थिए । मानव अधिकार शिक्षा कार्यक्रम अन्तर्गत संविधानको मौलिक अधिकारले सुनिश्चित गरेका शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारका क्षेत्रमा इन्सेकले १४ जिल्लाका २८ स्थानीय तहमा गरेको काम र उपलब्धिको समीक्षा समेत गरिएको थियो । स्थानीय तहका जिम्मेवार निकायलाई जबाफदेही बनाउन गठन भएका मानव अधिकार समूहले स्थानीय जनतालाई आफ्ना अधिकारको पहिचान गर्न र ति पहिचान भएका अधिकार प्राप्तिका लागि मागदावी गर्न सक्षम बनाइएको प्रदेशबाट कार्यक्रम फोकल पर्सनले प्रस्तुत गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
यसैगरी इन्सेकले मानव अधिकार प्रलेख तथा पैरवी कार्यक्रमतर्फ मानव अधिकार वर्ष पुस्तकका लागि ७७ जिल्लामा अभिलेख गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाका साथै पीडितको न्यायका लागि पहल गरिएका घटना विवरणलाई समेटिएको थियो । सो अवसरमा इन्सेक अनलाइन र प्रलेखसम्बन्धी अन्य कार्यक्रमका बारेमा समेत समीक्षा गिरएको छ । मानव अधिकार प्रलेख, पैरवी कार्यक्रम, मानव अधिकार शिक्षा कार्यक्रमले गरेका कामको उपलब्धि, पीडितको रहात, जिम्मेवार निकायलाई जबाफदेही बनाउने कार्यक्रमबाट प्राप्त उपलब्धि र सफलताका कथा प्रस्तुत गरिएको थियो । कार्यक्रममा इन्सेकका अध्यक्ष डा. कुन्दन अर्यालले भन्नु भयो-‘इन्सेक अभियान हो । यो अभियान आम नागरिकको हो । त्यसैले इन्सेकका कार्यक्रम नागरिक अधिकार लक्षित छन् । यसलाई सफल पार्नु इन्सेकका हरेक सदस्यको कर्तव्य हो ।’ कार्यक्रमहरूका बिचमा हुने तादाम्यतालाई विशेष ध्यान दिनुपर्नेमा अध्यक्ष अर्यालको जोड रहेको छ । इन्सेकका कार्यकारी निर्देशक विजयराज गौतमले काम गर्ने क्रममा कुनै समस्या भएमा तत्काल समाधान गर्न आग्रह गर्नु भयो । उहाँले भन्नु भयो-‘समाधान हुन नसक्ने समस्या नै हुँदैन ।’ गत वर्षको कार्यक्रमको समीक्षा गरिसकेपछि आगामी वर्षका लागि कार्यक्रम र गतिविधि तय गरिएको छ ।
अनलाइन डेस्क