इन्सेकद्वारा सञ्चालित कार्यक्रमको वार्षिक समीक्षा बैठक सम्पन्न
मोरङ । २०७८ असार ३० गते
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश १, कार्यालय विराटनगरको आयोजनामा इन्सेकद्वारा सञ्चालित कार्यक्रमको वार्षिक समीक्षा बैठक असार ३० गते विराटनगरमा सम्पन्न भएको छ । असार २९ गतेदेखि सुरू भएको बैठकमा इन्सेक प्रदेश १ कार्यालयका प्रमुख सोमराज थापाले इन्सेकले परियोजना सञ्चालन गरेको स्थानीय तहमा मानव अधिकारमैत्री गतिविधि सञ्चालन गरी त्यसबाट प्राप्त उपलब्धीहरूलाई अभिलेख गर्नुपर्ने बताउनु भयो । प्रमुख थापाले इन्सेकको अभियान मानव गरिमा र मानव मर्यादाका लागि भएकाले संविधान प्रदत्त अधिकार कार्यान्वयनका लागि स्थानीय तहलाई नीति तथा कार्यक्रम निर्माणमा इन्सेक सजहकर्ताहरूले पहल तथा सहजीकरण गर्न आवश्यक रहेको बताउनु भयो ।
बैठकमा इन्सेक विराटनगर प्रदेश कार्यालयकी कार्यक्रम अधिकृत बाग्मता कट्टलले एक वर्षको अवधिमा गरेका कामको समीक्षा गर्नुको साथै आगामी दिनमा कसरी काम गर्ने भन्ने विषयमा योजना बनाउन आवश्यक रहेको सहजकर्ता माझ बताउनु भयो । बैठकमा सुनसरी, मोरङ, उदयपुर र झापा गरी चार जिल्लाका जल्ला सहजकर्ताहरूले कार्यक्रम सञ्चालित स्थानीय तहमा भए गरेका कामहरूको बारेमा जानकारी गराएका थिए ।
नेत्रप्रसाद अधिकारी