कार्यक्रम सञ्चालन गर्न विद्यालयलाई सहयोग

स्याङ्जा। २०७८ असोज १ गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) स्याङजाले बाल अधिकार कार्यक्रम सञ्चालन गर्न भदौ ३० गते फेदीखोला गाउँपालिका–२ को श्री कालाभैरव माध्यमिक विद्यालयको बालअधिकार चेतना समूहलाई १० हजार रुपियाँ हस्तान्तरण गरेको छ । स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउन पहल कार्यक्रम (इएलपि) अन्तर्गत इन्सेकद्वारा गठन गरिएको बाल अधिकार चेतना समूहलाई विद्यालयमा अतिरिक्त क्रियाकलाप सञ्चालन गर्न इन्सेक स्याङजा जिल्ला सहजकर्ता प्रतिक्षा गुरुङले सो रकम हस्तान्तरण गर्नुभएको हो ।

रकम बुझ्दै विद्यालयका प्रधानाध्यापक राजुकुमार श्रेष्ठले इन्सेकले पछिल्लो साल दिएको कोषको उपयोगिता बताउनुका साथै यस वर्ष सो रकमबाट विद्यालयमा सम्पन्न हुने क्रियाकलापको जानकारी दिनुभएको थियो । कोषबाट विद्यालयमा बालबालिकाहरूको लागि चित्रकला, हाजिरी जवाफ जस्ता प्रतियोगिता गरिने उहाँले जानकारी दिनुभयो । उहाँले यस्ता प्रतियोगिताहरूमा विद्यार्थीहरू सहभागी हुँदा उनीहरूको आत्मबल बढने भन्दै इन्सेकलाई धन्यवाद दिनुभयो । कार्यक्रममा बाल अधिकार चेतना समूहका सदस्य र विद्यालयका शिक्षकहरुको उपस्थिती रहेको थियो ।

तिलकुमारी थापा