खाद्य अधिकारका विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न
रौतहट । २०७८ असार १८ गते
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा चन्द्रपुर नगरपालिका–९ डुमरियामा असार १७ गते खाद्य अधिकारका विषयमा शिक्षक, अभिभावक र विद्यार्थीहरूबिच अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । चन्द्रपुर नगरपालिका–९ का वडा अध्यक्ष गोविन्दप्रसाद दुलालले प्रत्येक व्यक्तिले फजुल खर्च जोगाएर आफ्नो घरका बालबालिका तथा ज्येष्ठ नागरिकका लागि लगानी गर्नुपर्ने बताउनु भयो । उहाँले आगामी दिनमा खाद्य अधिकारको विषयलाई प्राथमिकतामा राख्दै कार्ययोजनाहरू निर्माण गर्नेे प्रतिबद्धता जनाउनु भयो । स्थानीय गोविन्द चौधरीले संविधानले खाद्यको अधिकारको संरक्षण गरेको भएतापनि कार्यान्वयनमा नरहेकाले म्याद गुज्रेका खाद्य सामग्रीहरू विक्री वितरण भइरहेको आरोप लगाउनु भयो । उहाँले चन्द्रपुर नगरपालिकाबाट अनुगमन नभएकाले सर्वसाधारणको स्वास्थ्यमाथि हेल्चेक्र्याइँ भइरहेको आरोप लगाउनु भयो ।
स्थानीय मनिताकुमारी महराले दलित समुदायका बालबालिकाले शिक्षा लिएको भएता पनि रोजगार नभएकाले खाद्यान्नलगायत दैनिकीमा समस्या परेको बताउनु भयो । स्थानीय मीना ठाकुरले बाढीका कारण घर बगाएकाले अरुको घरमा बस्नुपर्ने बाध्यताका कारण अलपत्र परेको समयमा खाद्यान्न नभएकाले वडा कार्यालयसँग खाद्यान्नको व्यवस्था गर्न माग गर्नु भयो । शिक्षक जितेन्द्र चौधरीले निषेध आदेशका कारण वैकल्पिक शिक्षा चलाउन कठिन भएकाले होम ट्युशनको व्यवस्था गर्नको लागि सम्बन्धित समितिमा कुरा राख्ने बताउनु भयो । मानव अधिकार निगरानी समूहका अध्यक्ष टेकबहादुर चौरेलले मानव अधिकार शिक्षाको आवश्यकता रहेकाले टोलटोलमा गएर यसबारे जनचेतना जगाउने गरेको बताउनु भयो ।
कोपिला तिमल्सिना