खाद्य अधिकारका सवालमा सरोकारवालाबिच अन्तरक्रिया कार्यक्रम सम्पन्न
मोरङ । २०७७ माघ १८ गते
“स्थानीय समुदायलाई सचेत बनाउँदै जिम्मेवार निकायलाई जवाफदेही बनाउने ”(इएलपी) परियोजना अन्तरगत धनपालथान गाउँपालिकामा माघ १८ गते खाद्य अधिकारका सवालमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) विराटनगरको आयोजना तथा मानव अधिकार समूह धनपालथानको संयोजनमा गाउँपालिकामा सरोकारवालाहरूबिच खाद्य अधिकारको सवालमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष नसिमा बानुले गाउँपालिकाले कृषि तथा पशु सेवा सम्बन्धी कार्यक्रमलाई प्राथमिकतामा राखेको र थप आकर्षक कार्यक्रम ल्याउने प्रतिवद्धता जनाउनु भयो ।
कार्यक्रममा सहभागी चन्द्रकुमार सरदारले गाउँपालिकाले वितरण गरेको गहुँको बिऊको उमार शक्ति राम्रो नभएकाले यस वर्ष किसानले नोक्सानी व्योहोर्नु परेको बताउनु भयो । उहाँले गाउँपालिकाले बिऊ विजन वितरण गर्दा उमार शक्ति राम्रो भएको विऊ मात्र किसानलाई दिन आग्रह गर्नु भयो ।
कार्यक्रममा कृषि शाखा प्रमुख ओमप्रकाश सिंहले मानव अधिकार निगरानी समूहले खाद्य अधिकारका सवालमा गाउँपालिकाभित्र रहेका समस्याहरूलाई सूचीबद्ध गरी कृषि शाखामा दिएकोमा खुशी व्यक्त गर्नु भयो । उहाँले गाउँपालिकाले गर्नुपर्ने कार्य इन्सेक र मानव अधिकार निगरानी समूहले गरेकाले यसले किसानलाई फाइदा पुगेको बताउनु भयो । पश शाखा प्रमुख कमलप्रसाद तिम्सिनाले जनप्रतिनिधिहरूले पशुपालक किसानका समस्या टड्कारो रूपमा उठाउन नसक्दा समस्या भएको बताउनु भयो ।
उहाँले सङ्घीय सरकारले पशु बीमा लागि ७५ प्रतिशत रकम सरकारले व्योहोरी दिने भएकाले सबै किसानले पशु बीमा गर्न आवश्यक रहेको बताउनु भयो । कार्यक्रममा किसान अनिता मण्डलले मानव अधिकार निगरानी समूहले समयसमयमा भेला भएर विषयगत शाखा प्रमुखहरूसँग भेट गराउँदा आफ्ना समस्या किसानले राख्न पाएको बताउनु भयो । कार्यक्रममा मानव अधिकार निगरानी समूह धनपाल अध्यक्ष कृष्णप्रसाद राजवंशीले मानव अधिकार समूहले किसानका समस्यलाई जनप्रतिनिधिसमक्ष पुर्याउने भएकाले कृषकलाई सहयोग पुगेको बताउनु भएको थियो ।
नेत्रप्रसाद अधिकारी