








कञ्चनपुर । २०७८ असोज ५ गते
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजना तथा कृष्णपुर नगरपालिका स्तरीय मानव अधिकार समुहको समन्वयमा खाद्य अधिकारको अवस्था र सरोकारवालाहरुको भूमिका बिषयक संवाद कार्यक्रम असोज ४ गते कृष्णपुरमा सम्पन्न भएको छ । कृष्णपुर नगरपालिकाका केरा किसान अर्जुन जेठाराले आफूले तीन कट्टा क्षेत्रफलबाट सुरु गरेको केरा खेती हाल २७ बिगाह क्षेत्रफलमा गरिरहेको भएपनि उत्पादित केराको बजारीकरणमा समस्या रहेको बताउनु भयो । कृषकहरुले उत्पादन गरेको बस्तुले उचित बजार तथा मुल्य नपाउँदा किसानहरु सङ्कटमा परेको उहाँले बताउनु भयो ।
स्थानीय आलु उत्पादक किसान गणेशबहादुर मल्लले माटो तथा हावापानीको परीक्षण नगरिकनै डडेल्धुरा जिल्लाको भात्काडा जस्तो चिसो हावापानीमा उत्पादित आलुको बिउ कृष्णपुर नगरपालिकाको कृषि शाखामार्फत ५० प्रतिशत अनुदानमा वितरण गरिएकोले २५ केजी आलुको बिउ लगाउँदा २० केजी समेत उत्पादन नभएकोल यसप्रकारका बिउहरु वितरण नगर्न नगरपालिकालाई आग्रह गर्नु भयो । जिल्ला किसान महासङ्घ कंञ्चनपुरका अध्यक्ष शेरबहादुर सिंहले सरकारले दर्ता जमिनलाई आधार मानेर मलखादहरुको आपुर्ति गर्ने गरेकोले मलखादको वर्षेनी अभाव हुँने भएकोले खेतीयोग्य जमिनलाई आधार मानेर मलखादको वितरण गर्न आग्रह गर्नु भयो ।
कृष्णपुर नगरपालिका कृषि शाखा प्रमुख लालबहादुर धामीले नगरपालिकाले एक वडा एक उत्पादन अन्तर्गत प्रति वडा ३ लाख रुपियाँका दरले बजेट विनियोजित गरेको बताउनु भयो । केरा किसानहरुलाई प्रोत्साहन स्वरुप स्थानीय स्तरमै उत्पादित केरालाई प्रशोधन गरेर केराका विभिन्न परिकारहरु बनाउने तथा केराको पात र रुखको चटाईलगायतका समाग्री बनाउने तालिम सञ्चालन गर्ने कार्यक्रम रहेको र केरा, मासु, तरकारी, दुध आदिमा कृष्णपुर नगरपालिका आत्मनिर्भर रहेकोले निर्यातमा ध्यान दिनु पर्ने उहाँले बताउनु भयो ।
कृष्णपुर नगरपालिकाको पशु स्वास्थ्य शाखा प्रमुख मानबहादुर के.सीले नेपाल सरकारको साङ्गठानिक ढाँचा अनुसार स्थानीय तहहरुले उत्पादन गर्ने र प्रदेश तथा संघीय सरकारले उत्पादित बस्तुको बजारिकरण गर्नु पर्ने व्यवस्था भएपनि प्रदेश र संघीय सरकारले त्यसतर्फ ध्यान नदिदा समस्या भएको बताउनु भयो । कृष्णपुर नगरपालिकाका उपप्रमुख समिता रानाले किसानहरुलाई आवश्यक मात्रामा तथा आवश्यक समयमा मल, खाद र बिउबिजन उपलब्ध गराउन नगरपालिकाले पहल गरिरहेको र आगामी दिनमा पनि निरन्तरता दिने प्रतिबद्धता जाहेर गर्नु भयो । उहाँले बजारमा खाद्य सामाग्रीहरुको गुणस्तर अनुगमन गरी खाद्य अधिकारको सुनिश्चितताका लागि पनि नगरपालिकाले काम गरिरहेको बताउनु भयो ।
लिली कुँवर