खाद्य अधिकार सुनिश्चित गर्ने खाँडाचक्र नगरप्रमुखको प्रतिबद्धता
कालीकोट । २०७७ कात्तिक २६ गते
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कालिकोटको आयोजनामा सरोकारवालाबिच खाद्य अधिकारसम्बन्धी अन्तरक्रिया कार्यक्रम कात्तिक २६ गते खाँडाचक्र नगरपालिकामा सम्पन्न गरिएको छ । स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउने कार्यक्रम अन्तर्गत यो कार्यक्रम सम्पन्न गरिएको हो । कार्यक्रममा खाँडाचक्र नगरपालिकाका प्रमुख जसिप्रसाद पाण्डेले नगरपालिकमा खाद्य अधिकार सुनिश्चित गर्ने प्रतिबद्धता जनाउनु भएको छ ।
नगर प्रमुख पाण्डेले खाँडाचक्र नगरपालिका क्षेत्रका बजारमा गुणस्तरहीन खाद्यवस्तु अनियमित विक्री वितरण, अव्यवस्थित मासु पसल, खानेपानीको समस्या रहेकाले यसको समाधान निकाल्ने प्रतिबद्धता जनाउनु भयो । कार्यक्रममा पुश अस्पतालका प्रमुख लक्षमीप्रसाद अधिकारीले आयतित र अव्यस्थित मासुले कोभिड १९ को महमारीमा थप समस्या उत्पन्न गर्ने भएकाले तत्काल स्थानीय तहसँग सहकार्य गरेर समाधान गर्ने प्रतिबद्धता जनाउनु भयो ।
कालीबहादुर मल्ल