खाद्य परीक्षण प्रयोगशाला स्थापना गर्न माग
दाङ । ०७८ असोज २५ गते
खाद्य सुरक्षाका लागि जिल्लामै खाद्य परीक्षण प्रयोगशाला स्थापना गर्न सरोकारवालाहरुले माग गरेका छन । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजना तथा मानव अधिकार समूह घोराहीको समन्वयमा असोज २४ गते घोराहीमा आयोजित खाद्य अधिकारसम्वन्धी कार्यक्रममा सरोकारवालहरूले उक्त माग गरेका हुन् । दाङ जिल्लामै खाद्य प्रयोगशाला नहुँदा नमूना परीक्षणका लागि नेपालगञ्ज वा अन्यत्र पठाउनुपर्ने अवस्थाले अखाद्यवस्तुको रोकथाम गर्न कठिनाई भएको घोराही उप–महानगरपालिकाका उपभोक्ता हित सङ्ंरक्षण शाखा अधिकृत श्रीधर अधिकारीले बताउनु भयो । नतिजा आउन एक हप्ता भन्दा बढी समय लाग्ने भएकाले बताउनु भयो ।
बजारको नियमित अनुगमन भएपनि नापतौलका सामग्री नविकरण नहुँदा उपभोक्ता ठगिएको मानव अधिकार एलायन्सका जिल्ला अध्यक्ष बिकिरण गौतमले बताउनु भयो । उद्योग वाणिज्य सङ्घका महासचिव महेन्द्र बुढाथोकीले ५ सयको तरकारी बेच्ने व्यापारीले २ हजार खर्च गरेर नेपालगञ्ज वा अन्यत्र गएर तौलका सामग्री नविकरण गर्न नसक्ने बताउनु भयो । उहाँले जिल्लामै नापतौलको कार्यालय स्थापना गर्न माग गर्नुभयो । कार्यक्रममा बोल्दै सरोकारवालाहरूले बजारमा अखाद्यवस्तुको बिक्रीवितरण भइरहेको तर परीक्षण नहुँदा उपभोक्ता समस्या परेको बताएका थिए । त्यस्तै अनुगमन पनि नाममात्रैको भएको उनीहरूले गुनासो गरेका थिए ।
जयनारायण पुन