गण्डकीमा प्रदेशस्तरीय बालअधिकार सञ्जाल गठन

कास्की । २०७९ माघ ७ गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र  (इन्सेक)ले गण्डकी प्रदेश स्तरीय बाल अधिकार सञ्जाल माघ ७ गते कास्कीको पोखरामा गठन गरेको छ । कास्कीको माछापुछ्रे र मादी गाँउपालिका र नवलपुरको देवचुली र मध्यबिन्दु नगरपालिकाका आठ विधालय अन्र्तगत बाल अधिकार सञ्जाल गठन गरिएको हो । मादी गाउपालिका सीताराम मा विका कक्षा ९ मा अध्ययनरत सुनिश्चित गुरुङ अध्यक्षमा चयन हुनु भएको छ । त्यसैगरि उपाध्यक्षमा नवलपुर भिमसेन आदर्श मा वि मा अध्ययनरत निशा सारु, सचिवमा नवलपुरकै बालकृष्ण पाण्डे र उपसचिवमा माछापुछ्रे महेन्द्र मा विकी सृष्टि नेपाली र कोषाध्यक्षमा नवलपुरका पुनाम रानामगर चयन हुनु भएको छ भने अन्य सदस्य सहित १६ जनाको समूह गठन भएको छ । कार्यक्रममा मानव अधिकार आयोगका बाल अधिकार फोकल पर्सन मोहन काफ्लेले बालबालिकाहरू माथि हुने हिंसा का बारेमा बालअधिकार सञ्जालले आवाज उठाउनु पर्ने र बालबालिकाहरू आफ्नो अधिकारप्रति सचेत हुनुपर्ने कुरा व्यक्त गर्नुभयो ।

त्यसैगरि बाल अधिकार समूहका विधार्थीहरूले आफुहरूले बाल अधिकार सम्बन्धी तथा जातिय विभेद, लैङ्गिक विभेद, बालबिवाह जस्ता विषयमा जनचेतनामुलक नाटक प्रस्तुत गरिराखेको र आउदा दिनहरूमा पनि यस्ता खालका कार्यक्रमहरू गर्ने कुरा व्यक्त गर्नुभयो । इन्सेक गण्डकी प्रदेशका संयोजक शिव खकुरेलले बाल अधिकार सञ्जालबाट बालबालिकाहरूको कार्यक्रम तथा कृयाकलापले समाजमा परिवर्तन ल्याउनुपर्ने र विधालयमा हुने सबै खालका दण्ड सजायको अन्त्य गर्न पनि सबैले आवाज उठाउनुपर्ने भन्दै नयाँ गठित समूहलाई बधाई दिनुभयो । इन्सेक गण्डकीप्रदेश कार्यक्रम फोकल पर्सन सबनम शर्माले बालअधिकार सञ्जाल किन आवश्यक हुन्छ र यसको उदेश्यका बारेमा प्रस्तुती गर्नुभएको थियो ।

नारायण क्षेत्री