जिल्ला प्रतिनिधीसंगको अन्तरक्रिया सम्पन्न
मकवानपुर । २०७९ असार १० गते
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेशको आयोजनामा जिल्ला प्रतिनिधिहरुसँग प्रदेशका मानव अधिकारको अवस्था विषयक अन्तरक्रिया कार्यक्रम असार १० गते मकवानपुरको इन्द्रसरोवर–१ मार्खुमा सम्पन्न भएको छ । अन्तरक्रिया कार्यक्रममा सिन्धुपाल्चोक प्रतिनिधि नातिबाबु धितालले स्थानीय तह निर्वाचनको पूर्वसन्ध्यामा मूख्य निर्वाचन आयुक्तको कार्यलयमा माओवादी केन्द्रका कार्यकर्ताले तोडफोड गरेको बताउनु भयो । यसले गर्दा जिल्लामा द्वन्द्वको स्थिति नआए पनि स्वच्छ र भयरहित निर्वाचन हुन नसकेको बताउनुभयो । चितवन प्रतिनिधि दिपेन्द्र अधिकारीले सन् २०२२ जनवरीदेखि जुनसम्म चितवनमा ६६ ओटा मानव अधिकार उल्लङ्घनको घटना मध्ये बलात्कार तथा यौन दुर्व्यवहारका घटना बढी भएको बताउनु भयो । जिल्लामा बलात्कारपछि हत्याको घटनामा बृद्धि हुन थालेको जिकीर गर्नुभयो । यस्तै इन्सेक मानव अधिकारको अभिलेखिकरण गर्ने एक मात्र संस्था भएकोले जिल्लामा इन्सेकको विश्वसनीयता बढेको उहाँको भनाई थियो ।
जिल्लाका मानव अधिकार उल्लङ्घनका घटनाहरू अभिलेख गर्ने, पुष्टि गर्ने, अपडेट गर्ने लगायतको कार्य दैनिक रुपमा गरिरहेको दोलखा प्रतिनिधि उद्धव पोखरेलले बताउनु भयो । इन्सेक मकवानपुर प्रतिनिधि पुष्पराज अधिकारीले जिल्लामा हत्या, कुटपिट, बलात्कार र घरेलु हिंसा लगायतका मानव अधिकार उल्लङ्घनका घटनाहरू विगत भन्दा बढी नै भइरहेको बताउनु भयो । इन्सेक बागमती प्रदेश कार्यालयका प्रमुख कृष्ण गौतमले मानव अधिकारका क्षेत्रमा पीडितको न्यायका लागि पहल गरेको घटनाको विस्तृत विवरण तथा कागजातहरु समेत अभिलेख तयार गर्न आग्रह गर्नु भयो । उहाँले मानव अधिकार उल्लङ्घनका घटनाका पीडितलाई भेटेर घटना अभिलेखन कार्य गर्न र पीडितको न्यायका लागि सम्बन्धित निकायमा पहल गर्न इन्सेक प्रतिनिधिलाई उहाँले निर्देशन गर्नु भयो । यसैगरी इन्सेक बागमती प्रदेशका कार्यक्रम संयोजक गणेश भण्डारीले हामीले दैनिक गर्ने कार्य नै पीडितको न्यायका लागि पहल भएकोले त्यसलाई अभिलेखिकरण गरेर प्रदेशमा पठाउन जिल्ला प्रतिनिधिलाई सुझाव दिनु भयो । मासिक रूपमा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाको डाटा इन्ट्री, मासिक प्रतिवेदन लगायत तोकिएका कार्य सम्पानमा प्रतिनिधि स्वयम् अग्रसर हुन पनि उहाँले आग्रह गर्नु भयो ।
पुष्पराज अधिकारी