दैलेखका दुई स्थानीय तहमा मानव अधिकार समूह गठन

दैलेख । २०७९ असोज १३ गते

चामुण्डाबिन्द्रासैनी नगरपालिकाका कार्यवाहक नगरप्रमुख बलिराम खड्काले मानव अधिकार प्रवद्र्धनको क्षेत्रमा काम गरिरहेको अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सँग सहकार्यमा काम गर्न नगरपालिका इच्छुक रहेको बताउनुभएको छ । इन्सेक कर्णाली प्रदेश कार्यालय, सुर्खेतमार्फत असोज ९ गते सम्पन्न मानव अधिकार शिक्षा कार्यक्रमको परियोजना परिचयात्मक तथा मानव अधिकार समूह गठन कार्यक्रममा बोल्दै कार्यवाहक नगरप्रमुख खड्काले नगरपालिकाको सामाजिक न्याय र सचेतनाको काममा इन्सेक प्रभावकारी हुनेमा आफू विश्वस्त रहेको बताउनु भयो । त्यसबखत चामुण्डाबिन्द्रासैनी नगरपालिकाका ९ वटै वडालाई समेटदै मानव अधिकारका सवालमा सवलीकरण गर्न स्थानीय सामाजिक अगुवा बालीराम जैसीको संयोजकत्वमा ११ सदस्यीय मानव अधिकार समूह सर्वसम्मतिबाट गठन भएको छ । मानव अधिकार समूहका सदस्यहरूमा महेशकुमार ज्ञवाली, चन्द्रा ज्ञवाली, लक्ष्मी तारामी, मीना नेपाली, मानकुमारी कार्की, रामसरा जैसी, दिपेन्द्र बिक, शोभा भण्डारी, पुष्पा चौलागाई र हर्कबहादुर सावद चयन हुनुभएको छ ।

   

त्यसैगरी दुल्लू नगरपालिकामा ०७९ असोज ८ गते भएको दुल्लू नगरस्तरीय परियोजना परिचयात्मक कार्यक्रममा दुल्लू नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ज्ञानमणी नेपालले समाजमा विद्यमान कुरीति कुसंस्कार हटाउन कानूनी सचेतनालाई बढावा दिनुपर्ने बताउनुभयो । इएलपी परियोजनाका मानव अधिकार सवाल प्रवद्र्धन गर्न दुल्लूका स्थानीय सामाजिक अभियन्ता दुर्गे सार्कीको संयोजकत्वमा ११ सदस्यीय मानव अधिकार समूह गठन गरिएको परियोजना सहजकर्ता कलम नेपालीले जानकारी दिनुभएको छ । समूहका सदस्यहरूमा गणेश नेपाली, माया भण्डारी, टेकबहादुर सुजी, भावना नेपाली, निर्मला बिक, टिकाकुमारी बिक, सुशीला योगी, नैनसिंह नेपाली, गीता बिष्ट र पार्वती कसेरा रहनु भएको छ । इएलपी परियोजनाका कर्णाली प्रदेश फोकल पर्सन दुर्गा थापाले चामुण्डाबिन्द्रासैनी नगरपालिका र दुल्लू नगरपालिकामा परियोजनाले शिक्षा, स्वास्थ्य, खाद्य अधिकारसँगै वातावरण अधिकार सवाललाई प्रमुखता दिइएको जानकारी दिनुभएको थियो । उहाँले परियोजनाको परिचय र कार्यक्रमको उदेश्यमाथि प्रकाश पार्नु भएको थियो । इन्सेकले ६ वर्ष अघि दैलेखको नारायण नगरपालिका र डुगेश्वर गाउँपालिकामा काम गरेको इएलपी परियोजना यो वर्षदेखि दुल्लू र चामुण्डाबिन्द्रासैनी नगरपालिकामा नयाँ कार्यक्षेत्रमा जातीय विभेद, लैंगिक हिंसा लगायत मानव अधिकारका सवालमा पैरवी गर्ने कार्ययोजना रहेको छ कार्यक्रम फोकल पर्सन दुर्गा थापाले जानकारी दिनु भएको छ । 

अमर सुनार