




सुनसरी । २०७९ जेठ ३० गते
अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक) द्वारा कोशी गाउँपालिका गठित मानव अधिकार समूहले २५ बुँदे मागसहितको ज्ञापनपत्र जेठ ३० कोशी गाँउपालिकामा बुझाएको छ । मानव अधिकारमैत्री कार्यलाई निरन्तरता र कोशी गाउँपालिकाको आर्थिक वर्ष २०७९।८० को नीति, कार्यक्रम तथा बजेटमा मानव अधिकारमैत्री सवालहरू समेटन आग्रह गर्दै ज्ञापनपत्र बुझाएको मानव अधिकार समूहका अध्यक्ष राजकुमार शर्माले बताउनु भयो । इन्सेकद्वारा गाउँपालिकामा सञ्चालित स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउने इएलपी परियोजना अन्तरगत मानव अधिकार समूहले शिक्षा, स्वास्थ्य, खाद्य र आवास लगायतका अधिकारका विषयलाई सम्बोधन गर्न माग गर्दै गाँउपालिकामा ज्ञापनपत्र बुझाएको अध्यक्ष शर्माले बताउनु भयो । गुणस्तरीय शिक्षाका लागि विद्यालयसँगै मदर्सामासमेत विषयगत शिक्षकको व्यवस्था गर्नुपर्ने, कृषि, पशु , शिक्षा र स्वास्थ्य संस्थामा नियमित अनुगमन गरी जवाफदेहिता र उतरदायित्व निर्वाहमा ध्यान दिन समूहले गाँउपालिकालाई आग्रह गरेको छ ।
कोशी गाउँपालिकाका कृषकहरूलाई रासायनिक मल, उन्नत जातको बिउविजन समयमा उपलब्ध गराउनुपर्ने, माटो सुहाँउदो बालीका लागि माटो परीक्षण शिविर सञ्चालन गर्नुपर्ने, सुकुम्बासी विपन्न, दलित समुदायको आवासको अधिकार अन्तरर्गत गाउँपालिकाले तथ्याङ्क सङ्कलन गर्नुपर्ने लगायतका माग ज्ञापनपत्रमा समेटिएको छ । समूहले कोशी गाँउपालिकाको लौकही, हरीपुर, भण्टाबारी र कोशी व्यारेज बजार क्षेत्रमा खाद्य वस्तु विक्रि अव्यवस्थित भएको र मिसावटयुक्त विक्रि गरेको गुनासो आएकाले नियमित अनुगमन गर्नुपर्ने माग गरेको छ । मानवअधिकारमैत्री योजना र नीति तथा कार्यक्रम ल्याउनुपर्ने माग गरेको मानव अधिकार समूहका सचिव विष्णुकुमार यादवले बताउनु भयो । मानव अधिकार समूहले शिक्षा,स्वास्थ्य,खाद्य र आवासका सवालहरूलाई पहिचान गरी गाँउपालिका अध्यक्ष ऐयुव अन्सारीका स्वकीय सचिव धर्मेन्द्र विश्वासलाई ज्ञापनपत्र बुझाइएको छ । सुशासनका लागि प्रत्येक चौमासिकमा सार्वजनिक सुनुवाई कार्यक्रम, बार्षिक सामाजिक परीक्षण कार्यक्रम गर्न समेत ज्ञापनपत्रमार्फत सुझाव दिइएको छ ।
जयकृष्ण यादव