नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ प्रकाशन पूर्व समीक्षा सम्पन्न
कञ्चनपुर । २०७८ पुस १३ गते
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ प्रकाशन पूर्व समीक्षा कार्यक्रम पुस १२ गते महेन्द्रनगरमा सम्पन्न भएको छ । इन्सेकको आयोजनामा सम्पन्न पूर्व समीक्षा कार्यक्रममा इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीका प्रदेश संयोजक खडकराज जोशीले इन्सेकले प्रकाशन गर्दै आएको नेपाल मानव अधिकार वर्ष पुस्तकमा समावेश गरिने घटनाहरुको पूर्व समीक्षा तथा पुनर्पुष्टि गर्ने उद्धेश्यले कार्यक्रमको आयोजना गरिएको बताउनु भयो । उहाँले वर्ष पुस्तकमा मानव अधिकार उल्लङ्घनका घटना समावेश गर्नु पूर्व सरोकार निकायहरुसँग छलफल गरी आएका सुझावहरु वर्ष पुस्तकमा समावेश गरिने बताउनु भयो ।
जिल्ला अदालत, कञ्चनपुरका श्रेस्तेदार जयन्ती भट्टले घटना अभिलेख गर्दा आरोपित, पीडित र साक्षिलाई प्रत्येक्ष भेटेर सूचनाहरु अपडेट गर्न सुझाव दिनु भयो । जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका इस्पेक्टर लालबहादुर बंमले ज्ञान वा सूचनाको अभावमा पीडित पक्षको न्यायमा पहुँच अभिबृद्धि हुन नसकेकोले ग्रामिण क्षेत्रमा सचेतनामूलक कार्यक्रमहरु सञ्चालन गर्नु पर्ने बताउनु भयो । उहाँले मानव अधिकारको अवस्थाको विश्लेषणात्म अध्ययन गर्न आवश्यक रहेको र प्रहरीले नागरिक समाज तथा संघसस्थाहरुसँग समन्वय र सहकार्य गर्दै काम गरिरहेको बताउनु भयो । नागरिक समाजका सदस्य भुवन कुँवरले मानव अधिकार उल्लङ्घनका घटनामा कमी नआएकोले मानव अधिकार संरक्षणका लागि सरोकारवाला पक्षबिच सहकार्य आवश्यक रहेको बताउनु भयो ।
उच्च अदालत वारका अध्यक्ष उद्धवराज भट्टले घटनाको अभिलेखिकरण गर्दा पीडित तथा बालबालिकाहरुको गोपनियतामा ध्यान दिन र अदालतले धरौटीमा रिहा गरेकाहरुको रकम उल्लेख नगरी धरौटीमा छुटे भरेर अभिलेख गर्दा उपयुक्त हुने बताउनु भयो । पत्रकार मोहन विष्टले राजनीतिक संरक्षणका लागि पीडित पक्षले न्याय पाउन नसकेको र स्थानीय तहमा घटनाहरु मिलापत्र गर्ने गरिएकोले पनि घटनामा बृद्धि भएको बताउनु भयो । सन् २०२१ जनवरीदेखि सङ्कन गरेका ६२ ओटा घटनाहरु इन्सेक कञ्चनपुर प्रतिनिधि लिली कुँवरले समीक्षा कार्यक्रममा प्रस्तृत गर्नु भएको थियो । जसमा सात ओटा हत्या, १२ ओटा बलात्कार, ३३ ओटा घरेलु हिंसा, तीन ओटा यौन दुव्र्यवहार र मानव बेचबिखनका दुई ओटा घटना रहेका छन् ।
लिली कुँवर