नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ प्रकाशन पूर्व वार्षिक समीक्षा सम्पन्न

ताप्लेजुङ । २०७९ मङ्सिर २३ गते

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ प्रकाशन पूर्व जिल्लामा वार्षिक पूर्व समीक्षा कार्यक्रम मङ्सिर २३ गते सम्पन्न गरिएको छ । जिल्लामा सन् २०२२ को जनवरीदेखि नोभेरम्वरसम्ममा २० ओटा मानव अधिकारसँग सम्बन्धित घटनामा २१ जना पीडित भएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले मङ्सिर २३ गते सरोकारवालबिच सार्वजनिक गरेको तथ्याङ्क अनुसार २० ओटा घटनामा ३० जना पीडक छन् । नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ प्रकाशनका लागि जिल्लामा इन्सेकले अभिलेखीकरण गरेको गरेको घटनाबारे पृष्ठपोषण तथा सुझाव सङ्कलनका लागि वार्षिक समीक्षा सम्पन्न गरिएको छ । समीक्षा कार्यक्रममा प्रस्तुत गरिएको घटनामा बलात्कार ११ ओटा, बाल यौन दुर्व्यवहारका दुई ओटा, बलात्कार तथा मानव वेचविखनका एक ओटा, स्वास्थ्यकर्मी तथा जेष्ठ नागरिकमाथि कुटपिट एक-एक ओटा, हत्याका तीन ओटा र बहुविवाहका एक ओटा घटना छन् ।

     

१० वर्षमाथि १८ वर्षमुनिका पाँच जना बालक बलात्कार (बालविज्याँई) आरोपमा प्रहरी नियन्त्रणमा छन् । तीमध्ये दुई जना बालकलाई अदालतको आदेश बमोजिम क्रमश ०७८ चैत २२ गते र ०७९ वैशाख २९ गते बालसुधार गृह पठाएको पाइएको छ । इन्सेक प्रतिनिधिका अनुसार परिवारकै सदस्य, चिनजान भएका आफन्त तथा अपरिचित व्यक्तिबाट बालिका तथा महिला बलात्कृत भएका छन् । जिल्लामा यो वर्ष चार वर्षीया बालिकादेखि ७७ वर्षीया जेष्ठ नागरिक पीडित भएका छन् । जिल्लामा सबै स्थानीय तह मिलेर तत्काल सेफ हाउस संञ्चालन हुनुपर्ने खाँचो औल्याएको छ । इन्सेक प्रतिनिधिले कार्यक्रममा  ‘बलात्कार पीडित आधा दर्जन बढी बालिका तथा महिला अहिले पनि विभिन्न सेफ हाउसमा रहेको बताउनु भयो ।

   

नौ वर्षीया बालिका सामूहिक रूपमा बलात्कृत हुनु र १४ वर्षीया बालिकालाई यौन व्यवसायमा लगाएको आरोपमा ६ जनालाई पुर्पक्षका लागि थुनामा पठाएको घटना स्मरण गराउँदै सरोकारवाला निकाय गम्भीर हुनुपर्नेमा इन्सेकले जोड दिएको छ । समीक्षा कार्यक्रममा जिल्ला न्यायाधीश निर्मला योङयाले जिल्लामा बालिका र महिला पीडित भएको घटना पाइएको बताउनु भयो । घरमा पति र पत्नीबीच झगडा भएर बेमेल बढ्ने र अदालतमा सम्बन्धविच्छेद गरेर टुङ्गो लगाउने गरेको न्यायाधीश योङयाको भनाइ छ । चालु आर्थिक वर्षमा जिल्ला अदालतमा ८९ थान मुद्दा सम्बन्ध बिच्छेदको दर्ता भएको छ । फुङलिङ नगरपालिकाकी उपप्रमुख भीमोदेवी ओझाले स्थानीय तहको न्यायिक उपसमितिमा २ सय ९५ ओटा उजुरी दर्ता भएको बताउनु भयो । उपप्रमुख ओझाले ‘पति समेत पत्नीबाट हिंसामा परेको निवेदन परेको बताउनु भयो । समीक्षा कार्यक्रममा गैरसरकारी संस्था महासङ्घ जिल्ला अध्यक्ष खड्गविक्रम सुवेदीले मानव अधिकारको विषय भेग भएकाले निरन्तर छलफलमा हुनुपर्नेमा जोड दिनु भएको छ  । फुङलिङ नगरपालिकाका मेयर अमिर मादेनले लैङ्गिक हिंसाविरूद्धको १६ दिने अभियानको क्रममा सचेतनामुलक कार्यक्रम गर्नुका साथै बाँकी दिनमा समेत निरन्तर कार्यक्रम गर्ने बताउनु भएको छ । समीक्षा कार्यक्रममा जनप्रतिनिधि, सरकारी कार्यालय प्रमुख, विभिन्न महिला समूहका प्रतिनिधि र पत्रकारको सहभागिता थियो ।

देवराज गुरूङ