नेपाल मानव अधिकार वर्ष पुस्तक–२०२३ प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम सम्पन्न
नवलपरासी (सुस्ता पश्चिम)। २०७९ पुस ६ गते
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) नवलपरासीको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक–२०२३ प्रकाशन पूर्व वार्षिक पूर्व समीक्षा कार्यक्रम पुस ३ गते सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जिल्लाको मानव अधिकारको अवस्थाको यर्थातरुपमा चित्रण गरिएको बताउनु भयो । प्रजिअ पोखरेलले स्थानिय तहमासमेत समन्यव गरी समाजमा भएका घटनाहरुलाई वाहिर ल्याउनु पर्ने बताउनु भयो । जिल्ला प्रहरी कार्यालयका एसपी ऋषिराम कंडेलले इन्सेकले सङ्कलन गर्ने घटनालाई जिल्लाका स्थानीय तह अनुसार वर्गीकरण गर्दै तथ्याङ् प्रस्तुत गर्नुपर्ने सुझाव दिनु भयो । इन्सेक जिल्ला प्रतिनिधि नारायण पराजुलीले १ सय २७ वटा घटना प्रस्तुत गर्नु भएको थियो । प्रस्तुत घटनामा परिवारजनबाट हत्या तीन, परिवारजनबाट हत्या प्रयास चार, आत्महत्या दुरुत्साहन दुई, बालिका बलात्कार तथा बलात्कार प्रयास ११, बाल आत्महत्या दुरुत्साहन एक, महिला बलात्कार तथा बलात्कार प्रयास पाँच, बहुविवाह तीन, अपहरण तथा शरिर बन्धक एक, मानव बेचबिखन तथा ओसारपसार एक, अपराध एक, जातीय विभेद एक, बेपत्ता पारिएको एक र घरेलु हिंसा ९४ रहेका छन् ।
नारायण पराजुली