नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ प्रकाशन पूर्व वार्षिक समीक्षा सम्पन्न

अर्घाखाँची । २०७९ पुस ६ गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) अर्घाखाँचीको आयोजनामा  नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ प्रकाशन पूर्र्व वार्षिक समीक्षा कार्यक्रम पुस ३ गते सन्धिखर्कमा सम्पन्न भएको छ । समीक्षा कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि कूलबहादुर नेपालीले सन् २०२२ जनवरी देखि हालसम्म अभिलेख गरेका घटना बिवरण प्रस्तुत गर्नु भएको थियो । प्रस्तुत घटनामा  घरेलु हिंसा ३८ वटा,  बहुबिबाह ६ वटा, बलात्कार ६ वटा, यौन दुर्व्यवहार दुई वटा, आत्महत्या दूरुत्साहन तीन वटा, हत्या ६ वटा, बलात्कार  प्रयास चार वटा  र कुटपिट एउटा गरी ६४ वटा घटना रहेका छन् । जिल्ला समन्वय प्रमुख जीबनारायण कोइरालाले नेपाल मानव अधिकार वर्ष पुस्तक मानव अधिकारकालागि ऐना भएको बताउदै  मान अधिकार उल्लङ्घन र ज्यादतीका घटना स्थानीय स्तरमा पनि धेरै हुने भएकोले  स्थानीय तहको पनि सहभागितामा कार्यक्रम गरे थप प्रभाकारी हुने बताउनु भयो ।

प्रमुख जिल्ला अधिकारी शसिधर घिमिरेले मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाहरूको अभिलेखीकरण गरी सरोकारवालाहरू बिच छलफल गर्दा घटना न्यूनिकरण र कार्ययोजना कार्यान्वयन गर्ने आधार बन्ने बताउनु भयो । जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर अर्जुन पौडेलले मानव अधिकारको पालना गर्न गराउन प्रहरीका सबै तालिममा मानव अधिकारको बिषयलाई राखेर छलफल गर्ने गरिएको बताउनु भयो । कार्यक्रममा सुरक्षा निकायका प्रमुख, राजनीतिक दलका प्रतिनिधि, नागरिक समाजका प्रतिनिधि, पत्रकार र विभिन्न सङ्घ संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

कूलबहादुर नेपाली