नेपाल मानव अधिकार वर्ष पुस्तक प्रकाशन पूर्व समीक्षा

रुपन्देही । २०७७ पुस ९ गते

 

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) रुपन्देहीको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ को प्रकाशन पूर्व समीक्षा पुस ८ गते बुटवलमा सम्पन्न भएको  छ । कार्यक्रममा  सन् २०२० जनवरीदेखि डिसेम्बरसम्म अभिलेख गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटना इन्सेक जिल्ला प्रतिनिधि रीमा बिसीले प्रस्तुत गर्नु भएको थियो । यस अवधिमा नागरिक तथा राजनीतिक अधिकारका तीन वटा, यातना तीन वटा, बालबालिका बलात्कार र यौन दुर्व्यहारका ५५ वटा, महिला बलात्कार तथा बलात्कार प्रयासका २९ वटा, मानव बेचविखन तथा ओसार पसारका तीन वटा, जातीय विभेदका दुई वटा, , परिवारजनबाट हत्या तीन वटा, घरेलु हिंसाबाट ३ सय २७ जना पीडित भएका छन् ।

कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोग लुम्बिनी प्रदेश प्रमुख संझना शर्माले इन्सेकले लामो समयदेखि निरन्तर रुपमा नेपाल मानव अधिकार वर्ष पुस्तक मार्फत मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाहरूको अभिलेख गर्दे आएको र यसले सरकारका नीति तथा कार्यक्रम बनाउनका लागि सहयोग पुग्ने बताउनु भयो । सहायक प्रमुख जिल्ला अधिकारी विजयराज गौतमले नेपाल मानव अधिकार वर्ष पुस्तकले सरकारलाई मानव अधिकारको अवस्था झल्काउन र मानव अधिकारप्रति जवाफदेहि बनाउन सहयोग पुगेको बताउनु भयो ।

रीमा बिसी