न्यायमा पहुँच पुर्‍याउन वैतनिक वकिल मार्फत निशुल्क सेवा उपलब्ध गराउनेः रजिष्ट्रार कोइराला

सुर्खेत । २०७९ फागुन २ गते

उच्च अदालत सुर्खेतका  रजिष्ट्रार अर्जुन कोइरालाले आर्थिक अवस्था कमजोर भएर कानूनी प्रक्रियामा जान नसकेका पीडितलाई वैतनिक वकिल मार्फत निशुल्क सेवा उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । आर्थिक अवस्था कमजोर भएकै कारणले कानूनी प्रक्रियामार्फत न्याय पाउन नसकेका वास्तविक पीडितलाई जिल्ला अदालत तथा उच्च अदालतको वैतनिक वकिल मार्फत निशुल्क सेवा दिने र पीडितलाई न्याय दिलाउनमा आफु प्रतिवद्ध रहेको बताउनु भएको छ । न्याय पाउनु हरेक नागरिकको अधिकार भएकाले पनि अधिकार दिलाउने दायित्व राज्यको भएकाले आर्थिक अवस्था कमजोर भएकै कारण अदालतसम्म जान नसक्ने अवस्थाको अन्त्य गर्नका लागि न्याय प्रशासन कानून संशोधन गर्न समेत पहल गर्ने बताउनु भएको छ । सरकारले हरेक जिल्ला र उच्च अदालतमा वैतनिक वकिलको व्यवस्था गरेको छ । वैतनिक वकिल मार्फत पीडितले न्याय प्रक्रियामा जानका लागि कुनै पनि शुल्क लाग्दैन् । विहान १० बजेदेखि बेलुकी ५ बजेसम्म वैतनिक वकिलले अनिवार्य रुपमा कार्यालयमा बस्नुपर्ने भएकाले यो बीचमा न्यायका लागि कार्यालयमा पुग्ने पीडितलाई पुर्णरुपमा कार्यालयले सहयोग गर्ने बताउनु भयो ।

फागुन १ गते अनौपचारिक सेवा केन्द्र इन्सेक कर्णाली प्रदेश कार्यालयले वीरेन्द्रनगरमा आयोजना गरेको न्याय प्रक्रियामा पीडितको पहुँच विषयक छलफल कार्यक्रममा  रजिष्टारले यस्तो बताउनु भएको हो । साथै फैसला हुनु भनेको आधा न्याय पाउनु भएसरह भएको भन्दै उहाँले पीडितलाई पुर्ण न्याय दिलाउनका लागि फैसलाको कार्यान्वयन गराउन कर्मचारीलाई पटक पटक ध्यानाकर्षण गराउँदै आएको समेत उहाँले बताउनु भयो ।  उच्च अदालतका रजिष्ट्रारले न्यायमा सबैको पहुँच योग्य बनाउनका लागि पहल गर्ने समेत बताउनु भयो । छलफल कार्यक्रममा बोल्दै जिल्ला अदालत सुर्खेतका श्रेष्तेदार ठाकुरप्रसाद पौडेलले पीडित राहत कोष मार्फत पनि पिडितलाई आर्थिक सहयोग गर्न सकिने बताउनु भएको छ । आर्थिक अवस्था कमजोर भएकै कारण न्याय पाउनबाट वञ्चित भएका पीडितलाई कोषबाट सहयोग गर्न सकिने बताउनु भयो । यस्तै कार्यक्रममा नेपाल वार एसोसिएसनका उपाध्यक्ष उत्तम आचार्यले कार्यालयमा श्रोत साधनका अभावका बीच पनि पीडितलाई न्याय दिन पछि नपरेको बताउनुभयो । तर पीडितले पैसाको लोभमा वयान फेर्ने प्रवृतीले न्याय दिलाउन समस्या हुने गरेको गुनासो गर्नु भयो ।

यस्तै गरी कार्यक्रममा बोल्दै उच्च सरकारी वकिल कार्यालयका सहन्यायधिवत्ता ज्ञानप्रसाद भुसालले न्यायको बाटो सहज बनाउन सधै तत्पर हरेको बताउनु भएको छ । सबै तहका न्यायिक संस्थाको कार्यालयले निरिक्षण गर्ने र सेवा सुविधालाई चुस्त दुरुस्त बनाउनमा आफु प्रतिवद्ध रहेको समेत उल्लेख गर्नु भयो । यस्तै कार्यक्रममा बोल्दै जागरण एफएमका समाचार प्रमुख टेकराज केसीले जिल्ला अदालत तथा उच्च अदालतले निशुल्क दिने सेवा सुविधाका विषयमा सबैलाई जानकारी गराउनुपर्ने जोड दिनुभयो । कतिपय पीडित आर्थिक अवस्था कमजोर भएकै कारण न्यायमा जान नसक्ने अबस्था भएको भन्दै यस्ता व्यत्तीलाई न्यायको पहुँचमा ल्याउनका लागि स्थानीय सञ्चारमाध्याम मार्फत सुचना प्रवाह गरी सुसुचित गर्नुपर्नेमा जोड दिनु भयो । आवाज संस्थाका निशा पौडेलले पीडितलाई समयमा न्याय पाएको महशुस हुने गरी न्यायिक संस्थाले काम गर्नुपर्नेमा जोड दिनुभयो । वास्तविक पीडितले मुद्दा फैसला पछि क्षतिपुर्ति दिलाउनमा अदालतले ढिलाई गर्नेगरेको समेत बताउनु भयो । व्यक्तिगत ल फर्मले समेत मुद्दा लेखेवापत चर्को शुल्क लिने गरेको बताउनु भयो ।

यस्तै कार्यक्रममा बोल्दै उच्च अदालत सुर्खेतका वैतनिक वकिल गिता कोइरालाले ५ वटा जिल्ला हेर्नुपर्ने भएकाले काम गर्दा न्याय सम्पादनमा ढिलाई हुने गरेको बताउनु भयो । यस्तै गरी कार्यक्रममा बोल्दै जिल्ला अदालतका वैतनिक वकील भानुभक्त आचार्यले आर्थिक अवस्था कमजोर भएका कतिपय पीडितको कानूनी प्रकियामा जान ढिलाई हुने गरेको बताउनु भयो। तर पनि अदालत मा पुग्ने गरेका पीडितलाई समयमा न्याय दिलाउने प्रयास भैरहेको जिकिर गर्नु भयो । कार्यक्रममा बोल्दै इन्सेक कर्णाली प्रदेश संयोजक नारायण सुवेदीले आर्थिक अवस्था कमजोर भएर न्यायिक प्रकियामा जान नसकेका पीडितका लागि चालू आर्थिक वर्षमा १ लाख पचास हजार रुपैयाँ रहेको बताउनु भयो । ०७९ पुसबाट हालसम्म कार्यालयले आर्थिक अवस्था कमजोर भएका पाँच जना पीडितलाई न्यायिक प्रकियामा जान आर्थिक सहयोग गरेको समेत बताउनु भयो । कार्यकम को सहजीकरण इन्सेकका कार्यक्रम संयोजक किरण पौडेलले गर्नु भएको थियो ।

प्रभाकुमारी रावत