मानव बेचबिखनविरुद्धको २०औँ राष्ट्रिय दिवसको अवसरमा हेटौँडामा सचेतनामूलक हाजिरीजवाफ प्रतियोगिता आयोजना गरिएको छ ।
हेटौँडा उपमहानगरपालिका र मानव अधिकार संरक्षण तथा मानव बेचबिखनविरुद्धको सञ्जाल मकवानपुरको संयुक्त आयोजना र इन्सेक बागमती प्रदेश, माइती नेपाल, हिमराइट्स मकवानपुर, मानव अधिकार संगठनलगायतको सहकार्यमा ०८३ भदौ १८ गते प्रतियोगिता सम्पन्न भएको हो ।
कार्यक्रमका प्रमुख अतिथि हेटौँडा उपमहानगरपालिका–१३ का अध्यक्ष पेम्बा लामाले विगतमा पदमपोखरी क्षेत्रमा मानव बेचबिखनको अवस्था धेरै रहेको स्मरण गर्दै त्यही अवस्थालाई मध्यनजर गरेर कार्यक्रम आयोजना गरिएको बताउनु भयो । अहिले मानव बेचबिखनको स्वरूप परिवर्तन हुँदै गएको उल्लेख गर्दै उहाँले यस किसिमका कार्यक्रमले समुदायमा जनचेतना फैलाउन महत्वपूर्ण भूमिका खेल्ने बताउनु भयो ।

कार्यक्रमकी सभाध्यक्ष आरती पाठकले मानव बेचबिखनविरुद्ध जनचेतना फैलाउने उद्देश्यले हाजिरीजवाफ प्रतियोगिता आयोजना गरिएको जानकारी दिनु भयो । पछिल्लो समय प्रविधिको दुरुपयोग, पारिवारिक दूरी तथा सम्बन्ध विच्छेदजस्ता सामाजिक विषयलाई समेत ध्यानमा राख्दै कार्यक्रममार्फत सचेतना फैलाउन खोजिएको उहँले बताउनु भयो ।
प्रतियोगितामा ११ ओटा समुह सहभागी भएका थिए । सहभागीलाई मानव बेचबिखन, मानव अधिकार, प्रविधिको सुरक्षित प्रयोगलगायत विषयमा १ सय ९ वटा प्रश्न सोधिएको थियो। चार उटकृष्ट समुहलाई पुरस्कृत गरिएको थियो ।
कार्यक्रममा वडा सदस्य गीता परियार,वडा सदस्य रञ्जु लुङ्वा, वडा प्रहरी इन्चार्ज आशा लामा, हेटौँडा उपमहानगरपालिकाकी बाल कल्याण अधिकारी बिना थिङ, माइती नेपाल मकवानपुरकी संयोजक माया लामा तथा मानव अधिकार संगठन मकवानपुरकी अध्यक्ष शर्मिला श्रेष्ठलगायतको उपस्थिति थियो।
HUMAN RIGHTS NEWS PORTAL







