बलपूर्वक व्यक्ति बेपत्ता पार्ने कार्य विरुद्धको दिवसको अवसरमा दिप प्रज्ज्वलन

म्याग्दी । २०८१ भदौ १४ गते

बलपूर्वक व्यक्ति बेपत्ता पार्ने कार्य विरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा द्वन्द्व पीडित तथा नागरिक अगुवाहरुले म्याग्दीको बेनीमा ०८१ भदौ १४ गते दिप प्रज्ज्वलन गरेका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लगायतका पाँच संघसंस्थाहरुले बेनी नगरपालिकामा दिप प्रज्ज्वलन गरेका हुन् । २०६० चैत ७ गते म्याग्दी आक्रमण हुँदा दोहोरो भिडन्तमा गोली लागेर छियाछिया भएको बिजुलीको खम्बाको अगाडी गरिएको दिप प्रज्ज्वलनमा बेनी नगरपालिकाकी उपप्रमुख ज्योती लामिछाने लगायतको सहभागिता रहेको थियो । बेपत्तासम्बन्धी अन्तर्राष्ट्रिय महासन्धी अनुमोदन गर, बलपूर्वक बेपत्ता नागरिकको स्थिति सार्वजनिक गर, आत्मसम्मान सहितको परिपूरण सुनिश्चित गर, स्वतन्त्र र शक्तिशाली आयोग गठन गर भन्ने नारा सहितको व्यानरमा कार्यक्रमको आयोजना गरिएको थियो । बलपूर्वक बेपत्ता विरुद्धको अन्तर्राष्ट्रिय दिवस–२०२४ को अवसरमा बेपत्ता पारिएका नागरिकको सम्झनामा आयोजित दिप प्रज्ज्वलन इन्सेक, द्वन्द्व पीडित महिला राष्ट्रिय सञ्जाल, नागरिक आवाज, अपाङ्गता भएका द्वन्द्वपीडित राष्ट्रिय सञ्जालले आयोजना गरेको थियो ।

२०५२ साल फागुन १ गतेबाट तत्कालीन माओवादीले सुरु गरेको सशस्त्र द्वन्द्वका समयमा राज्यका सुरक्षा निकाय तथा तत्कालीन युद्धरत नेकपा(माओवादी)बाट समेत गरी झण्डै १ हजार ५ सयको हाराहारीमा मानिस बेपत्ता पारिएको विभिन्न मानव अधिकारवादी संस्थाहरुले तथ्यहरु सार्वजनिक गरेका थिए । आइसिआरसीद्वारा सार्वजनिक गरेको एक प्रतिवेदन अनुसार १ हजार ३ सय ४७ जना व्यक्तिहरु अझै पनि बेपत्ता नै छन् । बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगमा बेपत्ताको झण्डै ३ हजारको उजुरी परेको थियो । यसलाई आधार मानेरै हेर्ने हो भने पनि बेपत्ता कति छन् भनेर एकीन गर्न सकिने अवस्था अहिले पनि छैन ।

अमृतप्रसाद पौडेल