बलात्कार घटनाका पीडितलाई इन्सेकद्वारा सहयोग प्रदान

सप्तरी । २०८२ जेठ २६ गते

बलात्कार घटनाका पीडित बालिकालाई इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीले ०८२ जेठ २६ गते न्यायिक प्रक्रियामा सहयोग गर्न आर्थिक सहयोग प्रदान गरेको छ ।

१५ वर्षीया बालिकालाई न्यायिक प्रक्रियामा जान सहज होस् भन्ने उद्धेश्यले पीडित परिवारलाई आर्थिक सहयोग रकम प्रदान गरिएको हो ।

पीडित बालिकाको पारिवारिक आर्थिक अवस्था कमजोर भएकाले न्यायिक प्रक्रियामा जानका लागि समस्या भएको भन्दै पीडित बालिकाकी आमाले इन्सेकद्वारा सञ्चालित मानव अधिकार सहायता कक्षमा निवेदन दिएपछि इन्सेक सुदूरश्चिम प्रदेश कार्यालय, धनगढीले आर्थिक सहयोग स्वरुप १० हजार रुपियाँ प्रदान गरेको हो ।

पीडित बालिकालाई ०८१ चैत ११ गते जोशीपुर गाउँपालिका–४ लालपुरवाणीका ३५ वर्षीय सरोज चौधरीले बलात्कार गरेको आरोपमा पीडित पक्षले चैत ११ गते इलाका प्रहरी कार्यालय, टिकापुरमा उजुरी दिनुभएको थियो ।

पीडित बालिकाको स्वस्थ्य परीक्षण चैत ११ गते टिकापुर अस्पताल, टिकापुरमा गरिएको थियो ।

आर्थिक अभावका कारण पीडितहरुले न्याय पाउनबाट वञ्चित हुन नपरोस् र पीडितको न्यायमा सहज पहुँच पुगोस् भन्नका लागि इन्सेकले मानव अधिकार सहायता कक्ष मार्फत आर्थिक सहयोग प्रदान गर्दै आएको इन्सेक सुदूरपश्चिम प्रदेश संयोजक खडकराज जोशीले बताउनु भयो ।

मैनामोती चौधरी