बाल अधिकार चेतना समुहको क्षमता अभिबृद्धि तालिम सम्पन्न

कैलाली । २०७९ असोज ७ गते

इन्सेकद्वारा सञ्चालित स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउने कार्यक्रम अन्तर्गत बाल अधिकार चेतना समुहको क्षमता अभिबृद्धि तालिम लालझाडी गाउँपालिकामा असोज ६ गते सम्पन्न भएको छ । लालझाडी गाउँपालिकाका अध्यक्ष निर्मल रानाले मानव अधिकारसम्बन्धी कार्यक्रम संचालन गर्नका लागि आफ्नो गाउँपालिका छनौट गरेकोमा इन्सेकलाई धन्यवाद ज्ञापन गर्दै शिक्षा क्षेत्रको बिकासका लागि बालबालिकासँगै अभिभावकहरुको समेत क्षमता अभिबृद्धि गर्न आवश्यक भएको बताउनु भयो । उहाँले इन्सेकले सञ्चालन गर्ने परियोजनामा गाउँपालिकाको तर्फबाट पूर्ण सहयोग र समर्थन रहने प्रतिबद्धता जाहेर गर्नु भयो । लालझाडी गाउँपालिकाका उपाध्यक्ष सपना चौधरी रानाले तालिमबाट सिकेको शिप र ज्ञानलाई आफू अध्ययनरत विद्यालयका अन्य बालबालिकामा बाढ्न आग्रह गर्नु भयो ।

इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालयका संयोजक खडकराज जोशीले इन्सेकले बिगत लामो समयदेखि मानव अधिकार र सामाजिक न्यायको क्षेत्रका क्रियाशिल रहेकाले लालझाडी गाउँपालिकामा गठन भएका बाल अधिकार चेतना समुह र मानव अधिकार समुह मार्फत शिक्षा, स्वास्थ्य, लैङ्गिक विभेद, जातीय छुवाछुत, वातावरणको अधिकार लगायतका क्षेत्रमा समन्वय र सहकार्य गरेर कार्यक्रमहरु सञ्चालन गरिने बताउनु भयो । भानु माध्यमिक विद्यालयका बाल अधिकार चेतना समुहका संरक्षक शिक्षक टेकराज जोशीले इन्सेकले बालबालिकाहरुका लागि आवश्यक बिषयबस्तुमा प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको र बालबालिकाको क्षेत्रमा सम्बेदनशिल भएर बजेट बिनियोजन गर्न र बालमैत्री नीति निर्माण गर्न गाउँपालिकाले सहयोग गर्नु पर्ने बताउनु भयो । दुई दिनसम्म सञ्चालन भएको क्षमता अभिबृद्धि तालिमा बाल अधिकार र बालश्रम, नेपालमा बाल अधिकारसम्बन्धी कानुनी व्यावस्था तथा बाल अधिकारसम्बन्धी अन्तराष्ट्रिय कानुन, लैङ्गिक हिंसा र जातीय छुवाछुत, बाल भित्तेपत्रिका प्रकाशन, विद्यालय तथा समाज वातावरणमैत्री बनाउन बालबालिकाहरुको भूमिका, सङ्गठन व्यावस्थापन र नेतृत्वशैली, बाल अधिकार र जिम्मेवारी लगायतका बिषयबस्तुमा इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीमा संयोजक खडकराज जोशीले सहजीकरण गर्नु भएको थियो ।

मैनामोती चौधरी