बाल अधिकार समूहका सदस्यहरूकालागि तालिम सुरू
कपिलवस्तु । २०७९ माघ १२ गते
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्बिनी प्रदेश कार्यालय नेपालगञ्जको आयोजनामा बाल अधिकार समूहका सदस्यहरूकालागि दुई दिने बाल अधिकार शिविर तथा क्षमता अभिवृद्धि तालिम कपिलवस्तुमा माघ ११ गते देखि सुरूभएको छ । तालिममा यशोधरा मावि र रत्नराज्य लक्ष्मी मावि तौलिहवाका बाल अधिकार समूहका ३२ जना सदस्यहरू र संरक्षक शिक्षकको सहभागिता रहेको छ । उक्त तालिममा इन्सेक लुम्बिनी प्रदेश कार्यालयका कार्यक्रम अधिकृत सरस्वती मल्लले दुई दिन सम्म संचालन हुने तालिमको उद्देश्यमाथि प्रकाश पार्दै बालबालिकाहरूको वौद्धिक विकास र उनीहरूको हक अधिकारको सुनिश्चित गर्नकोलागि तालिमको आयोजना गरिएको बताउनु भयो । तालिममा रत्न राज्य लक्ष्मी माविका प्रधानाध्यापक दिवाकर प्रसाद चौधरीले मानव जिवनमा बाल बालिकाहरूकालागि चौतर्फी बिकासकोलागि तालिम महत्वपूर्ण भएको बताउनु भयो ।
मानव अधिकार समूह कपिलवस्तुका अध्यक्ष पुष्पा रेग्मीले बालबालिकाहरूले आफ्नो अधिकारको बिषयमा जान्न र बुझ्न जरुरी रहेको बताउदै शिक्षाको अधिकारसँगै कर्तव्यको समेत पालना गर्न आवश्यक भएको बताउनु भयो । कपिलवस्तु नगरपालिकाका शिक्षा शाखा प्रमुख हरिप्रसाद ज्ञवालीले बाल अधिकार , बाल अधिकारको क्षेत्रका प्रकार , बाल अधिकार संरक्षणमा शिक्षाको भूमिका , स्थानिय निकायको भूमिका , कपिलवस्तु नगरपालिकाको नीति तथा कार्ययोजनाको बिषयमा सहजीकरण गर्नुभयो । अधिवक्ता राजुकुमार श्रीवास्तवले बाल अधिकार के हो ? बाल अधिकार सम्बन्धि कानुनी प्रावधानहरू , समस्याहरू , वाल अधिकारको ऐतिहासिक पृष्ठभूमि , बाल अअधिकार महासन्धिमा रहेका प्रवधानहरूका बिषयमा सहजीकरण गर्नुभयो ।
पार्वती आचार्य