








बाँके । २०८१ वैशाख २८ गते
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्बिनी प्रदेश कार्यालय तथा बाल अधिकार समूहको आयोजनामा जानकी गाउँपालिका-६ को नेपाल राष्ट्रिय माविमा गठित बाल अधिकार समूहले ०८१ वैशाख २८ गते जलवायु परिवर्तनसम्बन्धी सचेतनामूलक सडक नाटक प्रदर्शन गरेका छन् । बाल अधिकार समूहले बढ्दो वातावरण प्रदुषण तथा जलवायु परिवर्तनको असरको बारेमा जनचेतना फैलाउनको लागि नाटक प्रस्तुत गरेका हुन् । उक्त सडक नाटक मार्फत घर, परिवार, समाजबाट वातावरण प्रदुषण न्यूनीकरण गर्न बाल अधिकार समूहले सबैले पहल गर्नुपर्नेमा जोड दिएका थिए । बाल अधिकार समूहको अध्यक्ष अङ्गिता धोबीले बाल अधिकार सचेतना समूहमा आबद्ध भएर बालबालिकामा भएका कला, शीप र ज्ञानको अभिवृद्धि भएको बताउनु भयो । उहाँले विद्यालयका बालबालिकाहरूले गरेका प्रयासलाई विद्यालय प्रशासनले सहयोग गरेकोमा आफू प्रभावित भएको उल्लेख गर्नुभयो ।
यसैगरी विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजकुमार धोबीले बालबालिकाहरूको क्षमतम अभिवृद्धिको लागि अतिरित्त क्रियाकलापमा सहजीकरण गरेकोमा इन्सेकप्रति आभार व्यक्त गर्दै विद्यालयलाई गुणस्तरीय बनाउनलाई आफूले पहल गर्ने प्रतिवद्धता गर्नुभयो । त्यस्तै नेपाल राष्ट्रिय माविका प्रधानाध्यापक अयोध्या प्रसाद यादवले जलवायु परिवर्तनसम्बन्धी सचेतनामूलक सडक नाटक मार्फत अभिभावकहरूलाई पनि सचेत बनाउनुपर्नेमा जोड दिनुभयो । इन्सेकका जिल्ला सहजकर्ता लक्ष्मी थारुले नेपालको संविधान २०७२ को भाग ३ अन्तर्गत रहेको व्यवस्था अनुसार मौलिक हक र धारा ३० मा स्वच्छ वातावरणको हकको प्रत्याभूति गर्ने र स्थानीय तहमा बुझाउनका लागि सबैले आफ्नो स्तरबाट लाग्नुपर्ने बताउनु भयो । नेपाल राष्ट्रिय माविका शिक्षिका शिला श्रेष्ठले जलवायु परिवर्तनसम्बन्धी आफूहरूले बालबालिकाहरूलाई विद्यालयमा पनि अध्यापन गराउने गरेको तर नाटक प्रदर्शनबाट अझ प्रभावकारी हुने भएकाले नाटक मार्फत सचेतना दिएको बताउनु भयो ।
ध्रुबराज शर्मा