बाल अधिकार समूहलाई क्षमता अभिवृद्धि तालिम

सुनसरी । २०७९ पुस २६ गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश १, कार्यालयको आयोजनामा बाल अधिकार समूहका सदस्यहरूको लागि दुई दिने क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ । देवनागञ्ज गाउँपालिकास्थित जनता माध्यमिक विद्यालय मध्यहर्षाही र श्री अमरसिंह मावि साहेवगञ्जका बाल अधिकार चेतना समूहमा आवद्धभएका बालबालिकाहरूलाई पुस २५ र २६ गते क्षमता अभिवृद्धि तालिम प्रदान गरिएको हो । बाल अधिकारको ऐतिहासिक पृष्ठभूमि, नेपालको संविधानले बाल अधिकारका लागि गरेको व्यवस्था तथा बाल बालिकासम्बन्धी ऐन, नेतृत्व विकास, बाल अधिकार चेतना समूहको कार्य योजना लगायतका विषयमा दुई दिने तालिम प्रदान गरिएको इन्सेक प्रदेश १ कार्यक्रम अधिकृत बाग्मती कट्टेलले बताउनु भयो । तालिममा इन्सेक प्रदेश प्रमुख सोमराज थापाले इन्सेकले परियोजना कार्यक्रम अन्तर्गत विद्यालयमाहरूमा बाल समूह गठन गर्दै बालबालिकाको क्षमता अधिवृद्धिको लागि तालिमको आयोजना गरेको बताउनु भयो । उहाँले कार्यक्रमले बालबालिकामा क्षमता तथा नेतृत्व विकास गर्नसक्ने र बालबालिकालाई प्रतिनिधित्व गराएर विद्यालयमा बालभित्ते पत्रिकासमेत प्रकाश गर्नसक्ने बनाउनका लागि तालिमको आयोजना गरिएको बताउनु भयो ।

तालिममा बाल अधिकार भनेको के हो, बालबालिकाको कर्तव्य र दायित्व, संविधान र ऐन तथा कानुनमा व्यवस्था गरिएका बालबालिकाहरूको अधिकार, बाल सहभागिता, बालअधिकारका चार ओटा स्तम्भ, आवश्यकतामा आधारित अधिकार र अधिकारमा आधारित अधिकार, बालअधिकारको ऐतिहासिक पृष्टभूमि, बालअधिकार महासन्धि र बाल भित्तेपत्रिकाको बारेमा सहजीकरण गरिएको छ । जनता माविका प्रधानाध्यापक राजकुमार मेहताले विद्यालयमा कार्यक्रम लागु गरेकोमा धन्यावद दिँदै यस तालिम कार्यक्रममा सहभागी बालबालिकालाई सिकेका कुरा आफ्नो विद्यालय र समाजमा सिकाउदै व्यवहारमा उतार्ने विश्वास व्यक्त गर्नुभयो । इन्सेक कार्यक्रम अधिकृत बागमती कट्टेलले वातावरण प्रदुषण, यसको असर, वतावरण संरक्षणमा हाम्रो भूमिका, बाल अधिकार संरक्षणमा देखिएका चुनौती, त्यसलाई समाधान गनुपर्ने तौरतरिका, बालअधिकार समूहको काम कर्तव्य र बालअधिकार समूहको कार्ययोजनाबको बारेमा सहजीकरण गर्नु भएको थियो ।

जयकृष्ण यादव