महामारी र विपद्मा नागरिक समाजमा परेको असर विषयक अन्तरक्रिया सम्पन्न

धनुषा । २०७८ कात्तिक १२ गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा आयोजित महामारी र विपद्मा नागरिक समाजमा परेको असर विषयक अन्तरक्रिया कार्यक्रम कात्तिक ११ गते जनकपुरधाममा सम्पन्न गरिएको छ । कार्यक्रममा इन्सेकका निर्देशक श्रीराम बजगाँईले विपद र महामारीको समयमा सामाजिक एकता आवश्यक भएको बताउनुभयो । उहाँले सामाजिक एकता, सद्भाव आवश्यक भएको वेलामा सामाजिक विचलन ल्याउने कूतत्व समेत आउने भएकाले यसतर्फ सचेत रहनुपर्ने बताउनुभयो । माहामारी र विपदको समयमा नागरिक समाजमा परेको असरलाई कम गर्न तीन ओटै तहका सरकार र सामाजिक सङ्घसंस्था, नागरिक समाजको भुमिका अहम् रहने बताउनुभयो ।

प्रदेश २ का सामाजिक विकास मन्त्री नवलकिशोर साहले प्रदेश २ सरकार जनतासँग प्रत्यक्ष रुपमा जनताहरूको सुखदुःखमा नजिक भएर काम गरि रहेको बताउनुभयो । उहाँले प्रदेशमा सुव्यवस्था र सुशासनका लागि आफू अग्रसर रहँदै आएको भएपनि नागरिक समाजका अगुवाहरूको जागरुकता हुनुपर्नेमा जोड दिनुभयो । मन्त्री साहले कोभिड–१९ का कारण नागरिकमा सामाजिक, सांस्कृतिक, आर्थिक र शैक्षिक रुपमा समस्या भएको बताउनुभयो । उहाँले विपदको बेलामा पनि प्रदेश २ सरकारले आफनो सीमित श्रोत र साधानहरूको अधिकतम प्रयोग गरि आफनो जनताहरूको सुखदुःखमा साथ र सहयोग गरेको बताउनुभयो । उहाँले कोभिड–१९ को महामारीको समयमा पनि प्रदेश २ सरकारले कोभिड विशेष अस्पताल सञ्चालन, पिसिआर परीक्षणको साथै जनचेतनाका लागि कामहरू निरन्तर रुपमा गरेको बताउनुभयो । उहाँले महामारीको बेलामा प्रदेश २ सरकारले राहत समेत वितरण गरेको बताउनुभयो ।

नागरिक समाजका अगुवा डा. आशा सिन्हाले विपद र महामारीको समयमा व्यापक जनचेतना र शिक्षा दिनु आवश्यक रहेको बताउनुभयो । उहाँले महामारीको बेलामा सरकारले तत्कालै निर्वाह गर्नुपर्ने दायित्व बहन नगरिँदा समस्या हुने गरेको बताउनुभयो । निलहिरा समाजका प्रदेश २ संयोजक प्रदिप यादवले विपद र महामारीको समयमा यौनिक तथा अल्पसङ्ख्यक समुदायका व्यक्तिहरू अझै विभेद र पीडामा पर्ने गरेको बताउनुभयो । उहाँले पहिचानको आधारमा राज्यले महामारीको समयमा यौनिक तथा अल्पसङ्ख्यक समुदायका स्वास्थ्यदेखि राहतमा समेत विभेद गरेको आरोप लगाउनुभयो । नागरिक समाजमा अगुवा निर्मल चौधरीले विपद र महामारीका कारण समाजमा सामाजिक तथा मनोवैज्ञानिक रुपमा असर पारेको बताउनुभयो । उहाँले विपद र महामारीका समयमा सामाजिक सङ्घसंस्थाहरूले खेलेका भुमिका, जनचेतना र जनजागरणको हामी नागरिक समाजले सम्मान गर्नै पर्ने बताउनुभयो ।

दिपेन्द्रप्रसाद सिंह