मानव अधिकारसम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न
नवलपरासी (सुस्ता पूर्व) । २०७८ चैत १३ गते
विनयी त्रिवेणी गाउँपालिकामा मानव अधिकारसम्बन्धी अभिमुखिकरण कार्यक्रम चैत ११ गते सम्पन्न गरिएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) नवलपुरको आयोजना, विनयी त्रिवेणी गाउँपालिकाको सहयोग र मानव अधिकार समूह विनयी त्रिवेणी गाउँपालिकाको सहकार्यमा आयोजित कार्यक्रममा विनयी त्रिवेणी गाउँपालिका वडा नम्बर १ र २ का सरोकारवालाहरूको सहभागिता रहेको थियो । कार्यक्रममा प्रशिक्षक विनयी त्रिवेणी गाउँपालिकाका कानुनी सल्लाहकार अधिवक्ता गणेश अधिकारीले मानव अधिकार संरक्षण गर्नु राज्यको दायित्व भएको बताउनुभयो । नेपालले हस्ताक्षर गरेका विभिन्न अन्तराष्ट्रिय महासन्धि तथा सन्धिहरूको बारेमा जानकारी गराउदै उहाँले महासन्धि तथा सन्धिहरूको कार्यान्वयन गर्दै मानव अधिकार प्राप्त गरेको अनुभूति आम नागरिकले गर्न पाउनुपर्ने बताउनुभयो । कार्यक्रममा इन्सेक नवलपुर प्रतिनिधि तिर्थराज डुम्रेले नागरिक तथा राजनितिक अधिकार र आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारको बारेमा सहजीकरण गर्दै नेपालको संविधान २०७२ मा मौलिक हकको रूपमा व्यवस्था गरिएका अधिकारहरूको बारेमा प्रस्तुतिकरण गर्नु भएको थियो । उहाँले नवलपरासी पूर्व नवलपुरमा मानव अधिकार सवालहरू के के छन् भन्ने विषयमा सहभागीहरूसंग छलफल गर्नुभएको थियो ।
विनयी त्रिवेणी गाउँपालिकाका उपाध्यक्ष मिना कुमारी रानाले मानव अधिकारको विषयमा इन्सेकले गाउँपालिकामा निरन्तर पैरवी गरिरहेको भन्दै धन्यवाद प्रकट गर्नुभएको थियो ।गाउँपालिका मार्फत बालबालिका, जेष्ठ नागरिक, महिला, अपाङ्गता भएका व्यक्ति, लक्षित समुदायहरूको लागि बजेट विनियोजन गरेर उनीहरूको अधिकार प्रत्याभूति गराउन निरन्तर सहयोग गरिरहेको उहाँले बताउनुभयो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरबहादुर बि.क.ले मानव अधिकारको विषय व्यापक र संवेदनशिल रहेको भन्दै समय र विकासक्रमसँगै यसको दायरा बढ्दै गएको बताउनुभयो । मानव मानवबिचको बिभेद, असमानता जस्ता सवालमा धेरै सुधारहरू भएको देखिएपनि अझै पनि मुलभूत रूपमा त्यसको निराकरण हुन नसकेको उहाँले बताउनुभयो । विनयी त्रिवेणी गाउँपालिका–२ का वडाध्यक्ष विष्णु ढकालले संविधानले दिएको अधिकार प्रयोगसँगै नागरिकहरू आफ्नो दायित्वको बारेमा पनि सजक बन्न आवश्यक रहेको बताउनु भएको थियो ।
सबैको साँझा प्रयत्नबाट नै समाजमा विद्यामान बाल विवाह, छुवाछुत, महिला हिंसा, विभेदको अन्त्य हुन सक्ने भन्दै उहाँले स्थानीय सरकार सदैव अधिकारको प्रत्यायोजन गर्ने विषयमा गम्भीर रहेको बताउनुभएको थियो । इन्सेकद्वारा विनयी त्रिवेणी गाउँपालिकामा गठन गरिएको मानव अधिकार समूहका अध्यक्ष धर्मबहादुर जि.सी.ले गाउँपालिकामा मानव अधिकार समूह गठन भएर मानव अधिकार रक्षा र त्यसका सवालहरूमा पैरवी गरिरहेको भन्दै स्थानीय सरकारले मानव अधिकारसम्बन्धी अभिमुखिकरणको लागि सहयोग र इन्सेकले आयोजना गरेकोमा धन्यवाद व्यक्त गर्नुभएको थियो । कार्यक्रमको सहजीकरण इन्सेक नवलपुर सहजकर्ता गङ्गा विश्वकर्माले गर्नुभएको थियो ।
तिर्थराज डुम्रे